
काभ्रे । माइती नेपालको आयोजनामा धुलिखेलमा दुई दिने कार्यशाला गोष्ठी सुरू भएको छ।
धुलिखेल-८ स्थित होटल सारथीमा शुक्रबार सुरू भएको कार्यशाला शनिबारसम्म सञ्चालन हुनेछ। कार्यक्रममा देशभरका न्यायाधीश, न्यायाधिवक्ता, माइती नेपालका प्रतिनिधि तथा मानव बेचबिखनसम्बन्धी अनुसन्धानमा संलग्न प्रहरीको सहभागिता रहेको छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले स्थानीय सरकारले सञ्चालन गर्दै आएका ‘बेटी बचाऊ, बेटी पढाऊ’ लगायतका कार्यक्रममा बजेट भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती बढेको बताउनुभयाे। प्रहरीले स्थानीय तहसँग साझेदारी बढाउन सकेमा मानव बेचबिखनका घटनामा कमी आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयाे।
कार्यक्रमकी प्रमुख अतिथि महान्यायाधिवक्ता सबिता भण्डारीले कार्यशालाले पीडित-मैत्री न्याय सम्पादनमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयाे। अनुसन्धानकर्ताले अभियोजनका आधार र प्रक्रियाबारे स्पष्ट बुझेर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कार्यशालाबाट प्राप्त निष्कर्ष आगामी दिनमा प्रत्यक्ष कार्यान्वयनमा उपयोगी हुने धारणा राख्नुभयाे।
उहाँकाअनुसार अनुसन्धानकर्तादेखि न्यायाधिवक्तासम्मको अन्तरसम्बन्ध मजबुत हुने र क्षमतामा वृद्धि हुने छ। मानव बेचबिखनबाट विश्वभर चुनौती बढिरहेको उल्लेख गर्दै उहाँले आव २०७६/७७ मा ३८५, २०७७/७८ मा ३७५, २०७८/७९ मा ३८६, २०७९/८० मा ३६६ र २०८०/८१ मा ३७३ वटा मुद्दा दर्ता भएको तथ्याङ्क प्रस्तुत गर्नुभयाे।
हाल आफूविरूद्ध भएको ‘मिडिया ट्रायल’ प्रति इंगित गर्दै उहाँले “मैले कुनै गल्ती गरेकाे छैन, गर्दिन पनि” भन्दै स्पष्ट धारणा राख्नुभयाे । कार्यशालाले पीडित-मैत्री न्यायलाई थप सुदृढ बनाउन मद्दत गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयाे। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले राज्य संरचना सक्रिय रहेको र यस कार्यशालापछि पीडित-मैत्री न्याय कार्यान्वयनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयाे । माइती नेपाललाई निरन्तर सहयोग गर्दै आएका सबैप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले मुलुकलाई मानव बेचबिखन-मुक्त राष्ट्र बनाउन सबैलाई योगदान गर्न आग्रह गर्नुभयाे ।
कार्यशालामा मानव बेचबिखनको वर्तमान अवस्था, प्रकृति, अभियोजनका चुनौती तथा आगामी योजनाका सम्भावित प्रभावबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ।