
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा एक थोपा पनि रगत बग्न नहुने बताउनुभएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको शुक्रबार निरीक्षण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिँदै प्रधानमन्त्री कार्कीले एक थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते हुन नहुने बताउनुभएको हो । यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलता ख्याल गर्न र सबै सुरक्षा निकायसँगको समन्वयसहित त्रुटिरहित ढंगले काम गर्न पनि उहाँले सेनालाई निर्देशन दिनुभयो ।
जेन-जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी गरी नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्यका लागिसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो । स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न प्रधानमन्त्रीले नेपाली सेनालाई निर्देशन दिनुभयो ।
जनतालाई सुरक्षाको प्रत्याभूति दिन तथा राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण बनाउन स्पष्ट कार्ययोजनासहित अघि बढ्न पनि उहाँको सेनालाई निर्देशन छ । आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने राष्ट्रिय अभिभारा रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
त्यसक्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो ।