
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुन दुई साता मात्र बाँकी रहँदा आगामी नेतृत्वका आकांक्षी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ-आफ्नो टिम बनाउने गृहकार्यमा लागेका छन् ।
ओली र पोखरेल दुवैले पदाधिकारी र केन्द्रीय कमिटीमा रहनेहरूको आ-आफ्नो सूची बनाएर प्यानलमै प्रतिस्पर्धाको तयारी थालेका हुन् । तर दुवै समूहमा पदाधिकारीका आकांक्षी धेरै भएपछि व्यवस्थामा चुनौती देखिएको छ । एमालेको दुई कार्यकाल अध्यक्ष भइसकेका केपी शर्मा ओलीले ११औँ महाधिवेशनबाट पनि तेस्रो कार्यकालको नेतृत्व गर्ने आकांक्षा राख्नुभएको छ ।
उहाँलाई चुनौती दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी नै घोषणा गरिसक्नुभएको छ । ओलीलाई महासचिव शंकर पोखरेल, उपाध्यक्ष गुरु बराल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिव पद्मा अर्यालले खुलेर साथ दिएका छन् । यता पोखरेललाई उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले सहयोग गरिरहेका छन् । पोखरेललाई अध्यक्ष बनाउन सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले पनि खुलेर साथ दिएका छन् ।
उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि पूर्ण समर्थन देखिएको छ । एमालेका १९ पदाधिकारीमध्ये उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र सचिवहरू रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्ट अहिलेसम्म कुनै पनि पक्षमा खुलेका छैनन् । यी नेतालाई आफ्नो पक्षमा ल्याउन ओली र पोखरेल दुवैले भरपुर प्रयास गरिरहेका छन् ।
ओली पक्षले गुन्डु र पार्टी कार्यालय च्यासललाई भेटघाटको थलो बनाएको छ भने पोखरेल पक्षले मदन भण्डारी फाउण्डेसनको कार्यालय थापागाउँ र पोखरेल निवास टोखालाई केन्द्र बनाएका छन् । अध्यक्षका आकांक्षीहरूले आ-आफ्नो समूहलाई बलियो बनाउने प्रयास जारी राख्दा अन्य पदका आकांक्षी पनि बढेका छन् । धेरै आकांक्षी देखिँदा व्यवस्थापन गर्न ओली र पोखरेललाई सकस छ।
ओलीलाई अहिले पनि पदाधिकारीमा रहेका शंकर पोखरेल, गुरू बराल, विष्णु रिमाल, पद्मा अर्याल मात्र नभएर तटस्थ रहँदै आएका नेताहरूलाई कुन पद दिने भन्ने चुनौती छ । त्यस्तै पोलिटब्यूरो र केन्द्रीय कमिटीमा रहेका केही नेताले पनि पदाधिकारीमा आकांक्षा राखेका छन् । ओलीलाई जस्तै पोखरेललाई पनि पदाधिकारीका आकांक्षा व्यवस्थापनमा सकस छ ।
११औँ महाधिवेशनबाट ४५ सदस्यीय स्थायी समिति हटाइने छ । यी नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने अप्ठ्यारो दुवै पक्षलाई छ । ओली पक्षका शेरधन राई, राजन भट्टराई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शेरबहादुर तामाङ, किरण गुरुङ, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, यमलाल कँडेल, लालबाबु पण्डित, गोरख बोगटी, पदम गिरी र महेश बस्नेतलगायतले पदाधिकारीमा आकांक्षा राखेका छन् ।
त्यसैगरी अध्यक्षका अर्का प्रतिस्पर्धी पोखरेलको समूहबाट विन्दा पाण्डे, कर्ण थापा, ठाकुर गैरे, ममता गिरी, रचना खड्कालगायतले पदाधिकारीको आकांक्षा राखेका छन् । पोखरेल समूहले महाधिवेशन प्रतिनिधि छनोट सकिएलगत्तै आफ्नो समूह नै घोषणा गर्ने तयारी गरेको छ ।
यस्तै अहिलेसम्म दुवै समुहमा नखुलेका विशाल भट्टराई, जुली महतो, यज्ञराज सुनुवार, महेश बर्तौला, सुनिता बरालसहितले पनि पदाधिकारी हुने आकांक्षा देखाएका छन् । उनीहरूमध्ये केही त जुन समूहले पदाधिकारीमा उम्मेदवार बनाउँछ त्यतै लाग्ने मनस्थितिसमेत बनाएका छन् । त्यति मात्र होइन अहिले दुवै समूहलाई जेन-जीहरूलाई पनि समेट्नुपर्ने बाध्यता छ । शनिबार महाधिवेशन प्रतिनिधि छनोट भएपछि एमालेको ११औं महाधिवेशनका लागि प्रतिस्पर्धा झन् रोचक बन्न सक्छ ।