काठमाडौं । मादल नेपालीहरुको प्रसिद्ध लोकबाजा हो । तर, पुरानोबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा मौलिक बाजा मादल बनाउने व्यक्ति र यसको धुन कम सुनिन थालिएको छ । आधुनिकताको मार खेपेको मादलको बिक्री सल्यानमा चाडबाडको बेला मात्रै बढ्ने गरेको छ । पहिले बाह्रैमास मादल बनाउने व्यवसायीले अहिले चाडपर्वमा मात्र काम पाउँछन् ।
सल्यान श्रीनगरको बसपार्क नजिकै मादल उद्योग सञ्चालन गर्दै आइरहनुभएका भीम नेपाली तिहारको बेला माग बढ्ने भएकाले मादल बनाउनमा व्यस्त हुनुहुन्छ । बाउबाजेको पेशा अँगाल्नुभएका नेपालीलाई कुनै बेला मादलको माग पूरा गर्न गाह्रो हुन्थ्यो । तर, अहिले उहाँ चाडपर्वमा मात्र व्यस्त देखिनुहुन्छ । उहा भन्नुहुन्छ, 'एउटा मादल बनाउन २ देखि ३ दिनसम्म लाग्छ । मेहनतअनुसार कमाइ त ठिकै हो, तर अचेल माग नै कम आउने गरेको छ ।'
शारदा नगरपालिका-१ शान्तिनगरका डबलबहादुर बादी ७४ वर्षको हुनुभयो । १५ वर्षको उमेरदेखि मादल बनाउने पेशामा लाग्नुभएका उहाँलाई कुनै बेला मादल बनाउन भ्याइनभ्याई हुने गरेका दिनहरु अहिले सपनाजस्तो लाग्छ । उहाँ सुनाउनु हुन्छ, 'पहिले हरेक मेलापर्वमा मादलको माग हुन्थ्यो, अहिले तिहारको देउसीभैलोका लागि मात्रै मादल किन्नेहरु आउँछन् ।'
आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउन्ड सिस्टम प्रयोग गर्नेहरू बढ्दै गए पनि तिहारमा देउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खोजी गर्छन् ।
नेपाली लोक संगीतमा मादलको विशेष महत्व छ, त्यसमा पनि सल्यानी मादलको त पहिचान नै बेग्लै छ । तर, पछिल्लो समय मादल बनाउने कच्चा पदार्थको अभाव हुन थालेको छ । कुनै बेला जिल्लामै पाइने गोरु र बाख्राको छाला अहिले बाहिरबाट किनेर ल्याउनुपर्ने समस्या छ ।