काठमाडौं । जेन-जीको आन्दोलनपछि पहिलो दिन बिहिबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा १६० अंकको गिरावट आएको छ ।
नेप्से ६ प्रतिशतले घटेपछि आजका लागि सेयर कारोबार बन्द गरिएको छ । आज बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द गरिएको थियो ।
त्यसपछि ११ बजेर २२ मिनेटमा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । त्यसपछि ११ बजेर २३ मिनेटमा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकियो ।
त्यसपछि खुलेको बजार ६ प्रतिशतले घटेपछि १२ बजेर ६ मिनेटमा तेस्रो सर्किट ब्रेकरमार्फत आजको कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । बजार बन्द हुँदा नेप्से १ सय ६० अंकले घटेर २ हजार ५ सय ११ दशमलव ९१ बिन्दुमा ओर्लिएको छ ।
सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्जले २०६४ सालपछि सर्किट ब्रेकरको व्यवस्था गरेको छ । २०६४ सालअघि सेयर बजारमा एकै दिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो ।
हालको व्यवस्थाअनुसार बजार खुलेको पहिलो घण्टामा नेप्से चार प्रतिशतले बढ्दा वा घट्दा सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार एक घण्टाभित्र ५ प्रतिशतले घट्दा वा बढ्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागिका कारोबार रोकिन्छ ।
त्यसपछि खुलेको बजार एक घण्टामा ६ प्रतिशतले बढ्दा वा घट्दा दिनभरकै लागि कारोबार स्थगित गरिन्छ । यसकारण एकै दिन नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढी बढ्न वा घट्न सक्दैन ।
समग्र बजार मात्र होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकरमार्फत् नियन्त्रण गर्दै आएको छ ।