मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्री सुशीला कार्की परामर्शमा व्यस्त

जेनजी आन्दोलनको भावना अनुरुप विषय विज्ञलाई जिम्मेवारी दिने तयारी
आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्री सुशीला कार्की परामर्शमा व्यस्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद बिस्तारका लागि छलफल तिब्र पार्नु भएको छ । उहाँले जेनजी आन्दोलनको भावना अनुरुप विषय विज्ञलाई जिम्मेवारी दिने गरि तयारी थाल्नु भएको हो । प्रधानमन्त्री कार्कीले जेन–जीका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल नै बनाएर मन्त्री छनोट गर्न लाग्नुभएकोले चाडै नै सरकारले पूर्णता पाउने बताइएको छ ।

अहिले मन्त्रिपरिषद् चार सदस्यीय छ । बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्री कार्कीको तयारी छ । बाँकी ७ जना मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले अनौपचारिकरुपमा जेन–जीका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल गठन गरेर काम गरिरहनुभएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । कार्यदलमा रहेका प्रतिनिधिको नाम भने गोप्य राखिएको छ । कार्यदलले दिएको सुझाव अनुसार मन्त्री चयन हुनेछन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलमा आवद्ध नभएका र समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउन चाहनुभएको छ । यसैगरि उहाँले

जेन–जीका प्रतिनिधिलाई पनि मन्त्रिपरिषद सहभागी गराउन चाहनु भएको छ । तर जेन जीका प्रतिनिधिहरुले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेका छैनन् । अब अनौपचारिक कार्यदलले समाजका प्रतिष्ठित व्यक्तिहरुसँग छलफल गरी मन्त्रिपरिषदमा सहभागीहरुको नाम टुंगो लगाउने छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि कार्की सरकार निर्वाचन, भ्रष्टाचार छानबिन, पुनर्निर्माण र सेवाप्रवाहमा केन्द्रित हुने छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पाएको कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचार छानबिन, जनताको चाहनाअनुसार सेवा प्रवाहमा सुधार गर्नुपर्ने जिम्मेवारी पनि छ । त्यसका लागि पनि सकेसम्म चाँडै सरकारलाई पूर्णता दिनुपर्ने हुन्छ । गत शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले आइतबार तीन जना मन्त्री छान्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.