काठमाडौं । अहिले सूचना तथा मनोरञ्जनको प्रमुख स्रोत नै भिडियो बन्दै गएको छ । तर के भिडियोमा भएका सन्देश सबैले बुझ्न सक्छन् ? दृष्टिविहीन तथा न्यून श्रवणशक्ति भएका व्यक्तिहरुलाई ती भिडियोमा भएका श्रव्य र दृश्यबाट सूचना सन्देश लिनै गाह्रो परिरहेको हुन्छ । भिडियोमा भएका सन्देश उनीहरुमा पनि पुर्याउन के गर्नुपर्ला ?
एउटा म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा दर्शकहरु आँखामा पट्टी बाँधेर भिडियो हेर्दै छन् । भिडियो सार्वजनिक गर्न किन आँखा बन्द गरिएको होला ? आँखा छोपेर के हेर्ने ? के बुझ्ने ?
हलभित्र दृष्टिविहीनबाहेकका दर्शकले आँखामा पट्टी बाँधेर ६ मिनेट लामो अडियो सुने । त्यो अडियोमा म्युजिक भिडियोको वर्णन गरिएको थियो । सिक्का म्युजिक भिडियोको यो गीत लेखनदेखि निर्देशनसम्म अपाङ्गता भएका कलाकारहरु सहभागी छन् ।
दृष्टिविहीनका लागि काम गर्ने एक संस्था ब्लाइन्ड रक्सले निर्माण गरेको भिडियो सिक्काको दुईवटा भर्सन प्रस्तुत गरियो । पहिलोमा गीत र भिडियोको वर्णन छ । अर्कोमा भिडियो र सबटाइटल । दृष्टिविहीनले भिडियोमा भएका कुराहरु हेर्न सक्दैनन् । दृष्टिविहीन र न्यून श्रवण भएका व्यक्तिलाई पनि सन्देश पुग्ने गरी व्याख्या गरिदिने, क्याप्सन, सबटाइटल राख्नुपर्ने सन्देश दिन आँखामा पट्टीलगाएर दर्शकलाई म्युजिक भिडियो देखाइएको थियो ।
टेलिभिजनको पहुँच र इन्टनेटको तीव्र विकासले भिडियो सन्देश प्रवाहको सशक्त माध्यम बनेको ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसी बताउनुहुन्छ । दृष्टिविहीनले टेलिभिजन मोबाइलआदिबाट प्रसारित हुने भिडियो सुनेर मात्र पर्याप्त जानकारी नपाएको गुनासो सुनाए ।
सबटाइटल र क्लोज क्याप्सनले भिडियोलाई दृष्टिविहीन र बहिराजस्ता अपांगता भएका व्यक्तिको पहुँचमा पुर्याउन सक्छ । गोरखाकी दृष्टिविहीन रोशनी अधिकारीका अनुसार क्याप्सन वा सबटाइटल भएमा दृष्टिविहीनले स्क्रिन रिडर सफ्टवेयरका माध्यमले पनि भिडियोमा भएका कुरा थाहा पाउन सक्छन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार न्यून दृष्टियुक्त एक लाख दश हजार छन् । दृष्टिविहीनको संख्या भने ३५ हजार छ । बहिरोपन भएका व्यक्तिको संख्या ५१ हजार छ । न्यून श्रवणशक्ति भएका व्यक्तिहरु ५१ हजार पाँच सय छन् । बहिरोपन र दृष्टिविहीन भएकाको संख्या १० हजार छ ।