काठमाडौं । भोजपुरी भाषामा हास्य युट्युब सिरिज ‘खेलाडी’ को निर्माण थालिएको छ ।
यो सिरिजलाई युट्युबबाट प्रसारण गरिने निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार नेपालबाट भोजपुरी भाषामा गीत-संगीत र फिल्महरूको निर्माण गरी त्यसलाई विश्वका भोजपुरी दर्शकमाझ पुर्याउने उद्देश्यले हास्य सिरिज निर्माण थालिएको हो ।
मुखिया इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘खेलाडी’ को टिजर सार्वजनिक गरिएको छ । यसमा प्रियंका पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहनेछ । त्यसैगरी सरू बराल, रामभजन कामत, अरकाना खातुन, गोविन्दा यादव, सेराज आलम, गंगालाल श्रेष्ठलगायतले पनि अभिनय गरेका छन् ।
सिरिजका लेखक/निर्देशक शैलेशमान सिंह बस्नेत हुन् । निर्माण वीरेन्द्र मुखिया, चाँदनी देवी र पूर्णिमा कुमारीको छ । सिरिजका गीत गोपाल अश्कले लेखेका छन् । आकाश ठाकुरको गायन तथा संगीत विनय कार्कीको छ । सिरिज फागुन १३ गते युट्युबमा प्रसारण हुनेछ ।