युवापुस्तालाई तान्दै रङ्गमञ्च

चैत्र १३, २०७९ |श्रृजना बास्तोला
युवापुस्तालाई तान्दै रङ्गमञ्च

काठमाडौं । पछिल्लो समय रङ्गमञ्चप्रति दर्शकको आकर्षण बढ्दो छ । खारिएका कलाकारले रङ्गमञ्चमा गर्ने अभिनयसँगै अन्य विधामा पाएको अवसरले नयाँ कलाकारको पनि ध्यान तानेको छ । नयाँ शैली र आधुनिक नाटक घर तथा कथावस्तुले दर्शकको चाख बढाएको छ ।

अभिनयमा देखिएको नवीनतम प्रयोग र समसामयिक कथावस्तुमा ल्याइएको विविधताले युवापुस्तालाई पनि रङ्गमञ्चले आकर्षित गरेको छ । रङ्गमञ्चको सफलताका मापक दर्शक हुन् । पछिल्लो समय नेपाली रङ्गमञ्चमा नाटक घर पुगेर नाटक हेर्नेहरू बढेका छन् । परिष्कृत नाट्य शैली र आधुनिक नाट्य घरका साथै नयाँ नयाँ कथावस्तुले नाटक घरसम्म दर्शकलाई डोर्‍याउने गरेको हो ।

काठमाडौं उपत्यकामा मात्रै आरोहण गुरुकुल, सर्वनाम, शिल्पी, मण्डला, कौसी थिएटर, कीर्तिपुर रङ्गमञ्चलगायत एक दर्जनभन्दा बढी रङ्गमञ्च छन् । जसमा नाटकको नियमित प्रदर्शनका साथै नाट्यकला प्रशिक्षण कक्षा पनि नियमित सञ्चालन छन् । 

रङ्गमञ्चबाट चलचित्र क्षेत्रमा जाने अवसर खुल्ने लहड र लोकप्रिय बनिने महत्वाकाङ्‍क्षाका साथै कला क्षेत्रमै समर्पित भएर केही गर्ने उद्देश्य बोकेका व्यक्ति संलग्न छन् । तर कामको मूल्याङ्कन कला प्रदर्शनले गर्ने भए पनि जीविकोपार्जन सहज नहुँदा यस क्षेत्रमा दीगोरुपमा काम गर्न कठिन हुने अनुभव रङ्गकर्मीको छ ।

काठमाडौंमा जस्तै विराटनगर, जनकपुर र बुटवलमा पनि रङ्गमञ्च नखुलेका होइनन् । केही सामान्य ढंगले चलिरहेका छन् भने केही असहज परिस्थिति भोगिरहेका छन् । दर्शकले मन पराउने कथावस्तुमा तयार गरिएका नाटक पनि प्रचार प्रसारको अभावमा दर्शकसम्म पुग्न सकेका छैनन् ।

रङ्गमञ्चलाई दिगो बनाउन रङ्गकर्मीलाई सहज छैन । तर राम्रो कथावस्तु भए दर्शकले नाटक रुचाउने रङ्गकर्मीको अनुभव छ ।

पछिल्लो समय सामाजिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुमा बनाइएका नाटकले रङ्गमञ्चका दर्शकलाई मनोरञ्जनका साथै विषयवस्तुको ज्ञान भने दिएको छ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।