नाटु-नाटुलाई उत्कृष्ट मौलिक गीतको ओस्कर अवार्ड

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
नाटु-नाटुलाई उत्कृष्ट मौलिक गीतको ओस्कर अवार्ड

काठमाडौं । भारतीय चलचित्र आरआरआरको गीत नाटु-नाटुले उत्कृष्ट मौलिक गीतको ओस्कर अवार्ड जितेको छ । अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा आयोजित ९५औं ओस्कार अवार्ड्स समारोहमा यसको घोषणा गरिएको हो ।

एस.एस. राजामौलीद्वारा निर्देशित तेलगु चलचित्र आरआरआरको नाटु नाटु गीतका लागि संगीतकार एम एम किरावानी र गीतकार चन्द्रबोसले उक्त पुरस्कार हात पारेका हुन् । ओस्कार समारोहमा नाटु नाटु नृत्यको लाइभ पर्फरमेन्ससमेत गरिएको थियो ।

भारतकै एलिफेन्ट हृविस्पर्सले उत्कृष्ट सर्ट डक्युमेन्ट्रीको ओस्कार पनि जितेको छ ।

उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड चलचित्र द हृवेलका लागि हलिउडका अभिनेता ब्रेंडन फ्रेजरले जिते । उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने चलचित्र ‘एभ्रिथिङ एभ्रिहृवेयर अल एटवन्स’ का लागि मलेसियन अभिनेत्री मिसेल योले हात पारिन् । उनी ओस्कारमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्ने पहिलो एसियन महिला हुन् । एभ्रिथिङ एभ्रिहृवेयरले उत्कृष्ट चलचित्रसहित, निर्देशक, सम्पादन, पटकथा, सहायक अभिनेता र अभिनेत्रीलगायत सात विधामा ओस्कार अवार्ड्स जितेको छ ।

बेस्ट भिजुअल इफेक्ट्सको अवार्ड भने अवतार टु अर्थात अवतार : द वे अफ वाटर चलचित्रले जितेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नेता एलेक्सी नाभेल्नीमाथि बनेको वृत्तचित्र नाभाल्नीले बेस्ट डक्युमेन्टरी अवार्ड जितेको छ ।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर, आर्ट्स एन्ड साइन्सेजद्वारा चलचित्र क्षेत्रका सर्वश्रेष्ठ निर्देशक, कलाकार, लेखक तथा प्राविधिकलाई विभिन्न विधामा बर्सेनि दिइने यो चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । यस वर्ष ६२ वर्षपछि पहिलोपटक रेड कार्पेट वास्तवमा रातो नभई पहेंलो सुन्तला अर्थात् सेम्पेन रङको राखिएको एकेडेमीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement