पुथाउत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढाको अग्रता

मंसिर १७, २०८१ |महेश केसी
पुथाउत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढाको अग्रता

रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरू भएको छ । हालसम्मको गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले अग्रता कायम गर्नु भएको छ ।

कुल खसेको पाँच हजार नौ सय ३१ मध्ये एक हजार एक सय २१ मत गणना हुँदा बुढाले ६ सय आठ र कांग्रेस-एमालेकी साझा उम्मेदवार केशकुमारी तुलाचनले चार सय ७६ मत प्राप्त गर्नु भएको र ३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले वडा नं. १ र १४ बाट गणना सुरू गरिएको जानकारी दिनु भयो ।

गत भदौ २८ गते बागलुङमा जीप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाइएको छ ।

वडाध्यक्ष पदमा भने एमाले र एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement