भीमदत्त-६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द निर्वाचित

मंसिर १७, २०८१ |हरिश्चन्द्र बाग
भीमदत्त-६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गर्नु भयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार भट्टले ३६९ मत प्राप्त गर्नु भयो ।

यसअघि २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसकै यहाँ महेन्द्रबहादुर खड्का निर्वाचित हुनु भएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

शान्ति निकेतन माविमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ५५.०४ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा दुई हजार ६ सय ६५ जना पुरुष र दुई हजार सात सय ६९ जना महिला गरी कुल पाँच हजार चार सय ३४ जना मतदाता छन् । ती मध्ये दुई हजार नौ सय ९१ जनाले मात्रै मतदान गरेका हुन् ।

उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र दुई जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement