तेह्रथुममा नौ प्रतिशत मत खस्यो

मंसिर १६, २०८१ |चन्द्र कार्की
तेह्रथुममा नौ प्रतिशत मत खस्यो

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा बिहान साढे ९ बजेसम्म नौ प्रतिशत मत खसेको छ । बिहान साढे ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत भीमबहादुर निरौलाले जानकारी दिनु भयो ।

वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र सहित आठ जनाको उम्मेदवारी परेको छ । वडा नम्बर ८ मा रहेको रत्न मावि सोल्मा मतदानस्थलको दुई वटै केन्द्रमा मतदान भइरहेको छ । एक हजार चार सय ८१ मतदाता रहेको वडामा महिला मतदाताको संख्या सात सय ३१ छ ।

नेपाली कांग्रेसबाट विजयी उम्मेदवार तेजमान लिम्बूको २०८० चैत्र २९ गते निधन भएपछि सोही पदमा उपनिर्वाचन भएको हो । मतदान सम्पन्न भएपछि आजै बेलुकीबाट सोही मतदानस्थलमा मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरक्षा व्यवस्था कडा बनाइएकाले अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनु भयो । 


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।


Enter Kantipur TV HD
Advertisement