भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ४१ पदका लागि ३२ जिल्लामा मतदान हुने

निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह
मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ४१ पदका लागि ३२ जिल्लामा मतदान हुने

काठमाडौं । स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले मतदानपूर्वको सबै तयारी सकिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । मतदान भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । भोलि साँझदेखि नै मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

३२ जिल्लाका स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र ३३ जना वडाअध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । ४४ पदका लागि उपनिर्वाचन भए पनि यसअघि नै एक जना वडाअध्यक्ष र दुई जना जिल्ला समन्वय समिति प्रमुख निर्विरोध भइसकेका छन् ।

निर्वाचन आयोगले मतदानस्थल निर्माण र सम्बन्धित स्थानमा निर्वाचन सामग्री पुर्‍याउने काम सकिएको जनाएको छ । सुरक्षा निकायका कर्मचारी पनि मतदान स्थलमा खटिइसकेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानमा निर्धक्क सहभागी हुन आयोगले आग्रह गरेको छ ।

निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न एउटा मतदान केन्द्रमा कम्तीमा १३ जना सुरक्षाकर्मी खटाइएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका बाजुरालगायतका केही स्थानमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनका बेला सवै सार्वजनिक यातायात खुला रहनेसमेत आयोगले जनाएको छ । निर्वाचन परिसरवाहेक मतदाताले सवारीसाधन प्रयोग गर्न पाउने र शारीरिक अशक्त र ज्येष्ठ नागरिकलाई मतदान स्थलसम्म पुग्न यातायातको विशेष व्यवस्था गरिएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायत नेपाल सरकारले जारी गरेका कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । यसपटक आयोगले मतदान भएकै स्थानमा मतगणना गर्ने व्यवस्था गरेको छ । सोमबारसम्म सबै परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement