स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

उपनिर्वाचन हुने स्थानीय तहका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित स्थानीय तहमा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेका छन् । सुरक्षा संवदनशीलतालाई मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिनदेखि नै वडा र पालिका सिल गर्ने तयारी छ ।

आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारको अवधि हिजोदेखि सकिएको छ । निर्वाचन आयोगले प्रचार प्रसारको अवधि सकिएकोले कुनै पनि चुनाव प्रचारका गतिविधि नगर्न निर्देशन दिएको छ ।

आयोगले विज्ञप्ति जारी गरी कुनै पनि उम्मेदवार वा दलको पक्ष र विपक्षमा मतदानका लागि प्रभावित गर्ने गरी कुनै प्रकारका काम नगर्न भनेको हो । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट उम्मेदवार र दलका सन्देश पोष्ट वा शेयर नगर्न पनि सचेत गराइएको छ ।

प्रचार निषेध गरिएको अवधिमा प्रचार प्रचारका गतिविधि गरे तत्काल कारवाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ । आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै मतदान हुनेछ।

एक/एक प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.