काठमाडौं । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन हुने स्थानीय तहका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित स्थानीय तहमा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेका छन् ।
सुरक्षा संवदनशीलतालाई मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिनदेखि नै वडा र पालिका सिल गर्ने तयारी छ । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचार प्रसारको अवधि हिजोदेखि सकिएको छ । निर्वाचन आयोगले प्रचार प्रसारको अवधि सकिएकोले कुनै पनि चुनाव प्रचारका गतिविधि नगर्न निर्देशन दिएको छ ।
आयोगले विज्ञप्ति जारी गरी कुनै पनि उम्मेदवार वा दलको पक्ष र विपक्षमा मतदानका लागि प्रभावित गर्ने गरी कुनै प्रकारका काम नगर्न भनेको हो । सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट उम्मेदवार र दलका सन्देश पोस्ट वा शेयर नगर्न पनि सचेत गराइएको छ । प्रचार निषेध गरिएको अवधिमा प्रचार प्रचारका गतिविधि गरे तत्काल कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।
आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदै छ । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै मतदान हुनेछ । एक/एक प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।