स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदै

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदै

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित अवधि अर्थात मौन अवधि सुरू हुँदै छ । मतदानको समयभन्दा ४८ घन्टाअघि निषेधित अवधि रहने व्यवस्था छ ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जाल मार्फत मत माग्न पाउने छैनन् । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घन्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भए नभएको बारे अनुगमन गर्ने निर्वाचन आयोगले जनाएको छ । मंसिर १६ अर्थात आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदै छ ।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement