दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका उम्मेदवार आश्वासन बाँड्दै मतदाताका घरघरमा

बिगतका बाचा पूरा नभएकोमा मतदाता असन्तुष्ट
मंसिर १२, २०८१ |चक्र भण्डारी
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका उम्मेदवार आश्वासन बाँड्दै मतदाताका घरघरमा

दैलेख । मसिंर १६ गते दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका-१३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । यतिबेला उम्मेदवारहरुले घरदैलौ गर्दै आआफ्ना चुनावी प्रतिबद्धतासहित मत मागिरहेका छन् । महाबुको अध्यक्षमा ७ र दुल्लु १३ को वडाध्यक्षमा ६ गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारहरुले तामझाम गर्दै आफ्नो पक्षमा मत मागिरहँदा मतदाताहरु भने पुराना प्रतिबद्धता पूरा नभएकोमा निरास देखिन्छन् ।

विगतकै चुनावदेखि यस्तै आश्वासन सुनिरहेका महाबु २ का नरबहादुर विकको जस्तै दुखेको यस क्षेत्रका अधिकांश मतदाताको छ । उनीहरु चुनावका बेला अनेकन् प्रतिबद्धता गर्दै घरघरमा भोट माग्न आउने तर जितेपछि वाचा भुल्ने गरेको आरोप जनप्रतिनिधिलाई लगाउँछन् । गाउामा शिक्षा रोजगार स्वास्थ्य सडक पूर्वाधार विकास पक्की पुल निर्माणजस्ता विकासका अनेकौं आश्वासन पाएका मतदाताले यसपटक काम गर्ने उम्मेदवारलाई छानेर मत दिने सोच बनाएको बताउँछन् ।

कार्यकताको हुल बोकेर बागागाजा बजाउँदै भोट माग्न उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् । महाबु गाउँपालिकामा ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका लक्षुमण गुरुड. विजयी हुनुभएको थियो । उहाँको २०७९ माघ २९ मा मृत्यु भयो । रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा कांग्रेस आफ्नो विरासत रक्षा गर्न प्रयासरत छ भने एमाले फेरि आफ्नै पक्षमा जनमत फर्काउन चाहन्छ ।

मतदातालाई मत हाल्ने विधि सिकाउँदै उम्मेदवारहरु दुई हात जोड्दै पानीपँधेरोदेखि मेलापातमा जताजता मतदाता भेटिन्छन् उतै धाइरहका छन् । शिक्षा, विकास सुशासन, रोजागारीजस्ता सदावहार आश्वासन बाँड्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेका उम्मेदवारहरु आफूले जिते प्रतिबद्धता पूरा गर्ने बाचा गर्छन् । 

६ वडा रहेको महाबुमा ९ वटा मतदानस्थल तोकिएको छ । यहाँ १२ हजार ६ सय १४ मतदाता छन् । त्यस्तै दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि २ वटा मतदानस्थल तोकिएको छ । त्यहाँ ६ जना उम्मेदवार छन् । उपनिर्वाचन केन्द्रीय सुरक्षा योजनाअनुसार जिल्लामा सुरक्षाकर्मी परिचालन गरी आवश्यक तयारी भइसकेको प्रशासनले जनाएको छ ।

निर्वाचन कार्यालयले मतदानको तयारी तीव्ररुपमा गरिरहेको जनाएको छ । यसअघि तालमेल गरेर चुनाव लडेका दलहरुले अहिले एक्लाएक्लै उम्मेदवारी दिएकाले प्रतिस्पर्धा कडा हुने देखिन्छ ।  


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement