मधेसमा मतदाता रिझाउन उम्मेदवारको दौडधुप

मंसिर ११, २०८१ |राजेश्वर पाण्डे
मधेसमा मतदाता रिझाउन उम्मेदवारको दौडधुप

रौतहट । मंसिर १६ गते स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन हुँदैछ । मधेश प्रदेशमा ४ जिल्लाका ७ वटा वडाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । चुनाव प्रचार गर्दै मतदाता रिझाउन नेताहरु लागि परेका छन् । यसले उपनिर्वाचन हुने वडामा चुनावी चहलपहल बढ्दै गएको छ ।

मधेश प्रदेशका रौतहट, धनुषा, महोत्तरी र सप्तरीको विभिन्न स्थानीय तहमा वडाध्यक्षको लागि उपनिर्वाचन हुन लागेको छ । रौतहटको राजपुर नगरपालिका वडा-६, इशनाथ नगरपालिका वडा -७ र गढीमाई नगरपालिका वडा-८ मा उपचुनाव हुन लागेको हो । वडाको चुनावमा दलका पदाधिकारीहरु घरदैलोमा सहभागी भएसँगै चुनावी चहलपहल बढेको छ ।

गढीमाई नगरपालिका वडा नम्बर ८ को उपनिर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठासँग जोडेर रणनीति बनाइरहेका छन् । वडामा चुनावमा रस्साकस्सी देखिँदा उम्मेदवारले जनमत आफ्नै पक्षमा आउने दाबी गरेका छन् भने मतदाताले शिक्षा, स्वास्थ र जनताको काम गर्ने उम्मेदवारको अपेक्षा गरेका छन् ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा- १ र ४ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । त्यहाँ दुवै वडामा दलीय र स्वतन्त्र गरी ८ आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि दुवै वटामा जितेको नेपाली कांग्रेसले यसपटक १ नम्बर वडामा दिवंगत वडाध्यक्षकी श्रीमती भुलियादेवी थरुनीलाई उम्मेदवार बनाएको छ । दुवै वडामा जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन छ । 

धनुषाको धनुषाधाम नगरपालिका-१ मा वडाध्यक्षका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार ११ राजनीतिक दल र ९ जना स्वतन्त्र उम्मेदवारसहित २० जनाको उम्मेदवारी परेको हो । वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको यस वडामा पनि प्रचार-प्रसार तीव्र छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । चुनाव प्रचारमा विभिन्न दलका केन्द्रीय पदाधिकारीहरु नै घरदैलोमा उत्रेका छन् । कतिपय दलका केन्द्रीय पदाधिकारीदेखि सांसदसँगै पूर्वमन्त्रीहरूसमेत प्रचारप्रसारमा जुटेका हुनाले कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

घरदैलो गरिरहेका उम्मेदवारहरुलाई मतदाताको मनस्थिति बुझ्न गाह्रो भएको देखिन्छ । किनभने सचेत मतदाताहरु अवसरवादी र गुलिया आश्वासन दिने उम्मेदवारभन्दा विकासप्रेमी र वडाको वास्तविक आवश्यका बुझेको उम्मेदवारलाई भोट दिने पक्षमा देखिएका छन् । 


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement