सुदूरपश्चिमका उम्मेदवार मत माग्दै गाउँगाउँमा

मंसिर १०, २०८१ |वरुण पनेरू|मनोज बडू|प्रेम रौले|हरिश्चन्द्र बाग
सुदूरपश्चिमका उम्मेदवार मत माग्दै गाउँगाउँमा

डडेलधुरा । आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि मत माग्दै उम्मेदवारहरू गाउँगाउँ पसेका छन् । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डोटी, बाजुरा र दार्चुलाका उम्मेदवारहरूले विकासका एजेन्डालाई प्राथमिकता दिएको देखिन्छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा पाँच जनाको उम्मेदवारी परे पनि दुई दलले मनोनयन फिर्ता लिएपछि सत्तारुढ कांग्रेस, एमालेसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिका उपाध्यक्ष मैनादेवी जोशीको २०८० साल माघ ४ गते निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

यस्तै दार्चुलाको दुहु गाउँपालिका-५ को वडाध्यक्षमा एमालेका मानसिंह बडाल, कांग्रेसका धनसिंह कुँवर, माओवादी केन्द्रका वीरसिंह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवर मतदाताको घरदैलामै पुगेर भोट मागिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष छान्ने हुने उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । १० दलीय र दुई स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारले आचारसंहिताको पालना गरे नगरेको अनुगमन गरिरहेको जनाएको छ ।

बझाङको सुर्मा गाउँपालिका-४ र डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा पनि वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरूको प्रचारप्रसार व्यापक छ ।

कैलालीमा भने जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भइसक्नु भएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै कुनै कारणले रिक्त भएको पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।

Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।

Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।

Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement