उपचुनावमा उम्मेदवारले कति खर्च गर्न पाउछन् ? आयोगले तोक्यो खर्चको हद

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपचुनावमा उम्मेदवारले कति खर्च गर्न पाउछन् ? आयोगले तोक्यो खर्चको हद

काठमाडौं । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपचुनावका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले लागि खर्चको हद निर्धारण गरेको छ । आयोगले गत बुधबार खर्चको हद निर्धारण गरेको आज जानकारी दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतपरिणाम घोषणाको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको हो ।

कसले कति खर्च गर्न पाउछन् त ?

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ७ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५ लाख ५० हजार रुपैयाँ भन्दा बढ्ता खर्च गर्न पाउने छैनन् ।

यस्तै नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि जम्मा ४ लाख ५० हजार भित्र रहेर खर्च गर्नु पर्ने सीमा तोकिएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । यस्तै गरी जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी आयोगले सीमा निर्धारण गरेको छ ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाअध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.