मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज सूचना जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्ने छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिने छ । उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले जनाएको छ ।

यसैबीच आयोगले उपनिर्वाचनका लागि आजदेखि दल दर्ताको काम सुरु गरेको छ । उपनिर्वाचनमा भाग लिने दलहरुले असोज १६ गतेसम्म दल दर्ताका लागि निवेदन दिनुपर्ने छ ।

स्थानीय तहमा अहिले ४० पद रिक्त छन् । १ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष , ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी, २१ नगरपालिका वडाअध्यक्ष र ९ गाउँपालिका वडाअध्यक्षको पद पनि रिक्त छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.