वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र

वैशाख ६, २०८१ |विप्लव भट्टराई
वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र

इलाम । निर्वाचन आयोगसहित सरकारी निकायहरूले वैशाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र पारेका छन् । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भइरहेका बेला सुरक्षा निकायलगायतका सरकारी संयन्त्रहरुले पनि आफ्नो कामको गति बढाएका हुन् ।

निर्वाचनमा आवश्यक पर्ने मतपेटिका र मतपत्रसहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित गृह र रक्षा सचिवहरूको संयुक्त टोलीले निर्वाचन सुरक्षासम्बद्व सरोकारवालाहरुसँग छलफल गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेकाले अव दलहरूले चुनावी सभा र प्रचार-प्रसारका कार्यक्रमलाई व्यवस्थित गर्न आयोगले आग्रह गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतसहित निर्वाचनमा खटाइने ७ सय ४९ जना कर्मचारीको सूची तयार गरेको छ । योसँगै प्राप्त भएका मतपत्र रुजु गरिँदैछ । अब मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर आवश्यक सामग्रीसहित मतदान स्थलमा खटाउने तयारी छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिले इलामका ९७ वटै मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । उपनिर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ८ सय ९४ जना कर्मचारी खटाइँदैछ । निर्वाचनको सुरक्षाका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने छ ।

जिल्ला निर्वाचन कार्यालयले वैशाख ११ गतेसम्मका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको छ । योसँगै मतदान स्थलमा आवश्यक पर्ने सबै खालका सामग्री व्यवस्थापन भइसकेको कार्यालयले जनाएको छ ।

निर्वाचनसम्बद्ध निकायले तयारी तीव्र पारेपछि चुनाव शान्तिपूर्ण हुने अपेक्षा मतदाताको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement