निर्वाचनमा खटिएका सबैलाई धन्यवाद दिँदै बागमती प्रदेशले बुझ्यो प्रतिवेदन

पुस २, २०७९ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा खटिएका सबैलाई धन्यवाद दिँदै बागमती प्रदेशले बुझ्यो प्रतिवेदन

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझ्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको बताएका छन् ।

शनिवार निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले बागमती प्रदेश प्रमुख शर्मासमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, सुरक्षाकर्मीहरूलाई समेत धन्यवाद व्यक्त गरे ।

बागमतीमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३५ र समानुपातिक तर्फ ४० वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिएका थिए । प्रदेशसभाको प्रत्यक्षतर्फ ६ सय ६८ जनाको उम्मेदवारी परेकोमा ६६ जना निर्वाचित भएका हुन् । यस्तै समानुपातिकतर्फ ७ सय ५४ जनाको नाम बन्द सूचीमा समावेश गरिएकोमा ४४ जना सांसद बनेका छन् ।

बागमती प्रदेशमा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् भने ३३ वटा दलहरूको जमानत जफत भएको छ । निर्वाचनमा १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने ४ सय ८४ जना उम्मेदवारहरूको धरौटी जफत भएको बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले बताए ।

 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.