सुदूरपश्चिम प्रदेश प्रमुखले बुझे निर्वाचनको अन्तिम प्रतिवेदन

पुस २, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेश प्रमुखले बुझे निर्वाचनको अन्तिम प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन शनिबार आयोगले बुझाएको छ ।

निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख जोशीलाई प्रदेशसभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएकी हुन् । गत मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनको मत परिणाम शनिबार एकैसाथ प्रदेश प्रमुखहरूलाई बुझाइएको छ । 

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणाको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ । 

पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सांसदहरू मध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्नेछ । 

संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.