रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख

मंसिर २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्रको चुनावी खर्च २४ लाख ४९ हजार ६०७ रुपैयाँ भएको छ । सामाजिक सन्जालमार्फत मंगलबार मिश्रले आफ्नो खर्च विवरण आयोगलाई बुझाएको भन्दै सार्वजनिक गरेका हुन् ।

उनले सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार खर्च गरेको र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको पनि जनाएका छन् । ‘पहिलेजस्तै यसपटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाख रुपैयाँको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देशमार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ,’ विज्ञप्तिमा विश्रले उल्लेख गरेका छन् ।

उनले आर्थिक सहयोग नगर्नु भन्दाभन्दै पनि लगभग ३३ लाख रुपैयाँ जम्मा भएको पनि जनाएका छन् । ‘त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कुल सहयोग लगभग रू. ३३ लाख हुन गएको छ,’ उनले भने ।

यसपटक निर्वाचन खर्चपछि बचेको लगभग आठ लाख ५० हजार रुपैयाँ 'काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष' मा जाने पनि मिश्रले जनाएका छन् । ‘व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नम्बर १ का मतदाताप्रति आभार प्रकट गर्न मेरा पछिल्ला दुई पुस्तक विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाजबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रु. २५ लाखको सीड मनी (बीज पैसा) बाट काठमाडौं क्षेत्र नं. १ सरोकार कोष स्थापना गर्ने घोषणा मैले निर्वाचन लगत्तै गरेको थिएँ,’ मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा करोडौं करोडको अपारदर्शी खर्चका कारण झनझन् चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने पनि मिश्रले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.