काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सोमबार सकिएको छ । तर समानुपातिक प्रणालीतर्फको गणना भोलि (मंगलबार) सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फको प्रणालीअन्तर्गत हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतको गणना सकिएको छ ।
सबै मतको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । यसका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात र प्रदेशसभातर्फ तीन दिनको समय पाउनेछन् ।