यसपटक नै युवाले ब्रेक थ्रु गर्न सक्ने अवस्था छैन : ठाकुर गैरे

मंसिर १९, २०७९ |माधव अर्याल
यसपटक नै युवाले ब्रेक थ्रु गर्न सक्ने अवस्था छैन : ठाकुर गैरे

पाल्पा । पाल्पा २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले यसपटक नै युवाले ब्रेक थ्रु गर्न सक्ने अवस्था नभएको बताएका छन् । हालै सम्पन्न निर्वाचनमा कुनै पार्टीको बहुमत नआएको भन्दै उनले यसपटक मिलीजुली सरकार बन्ने र विभिन्न गठबन्धन बन्न सक्ने परिस्थिति रहेको तर्क गरे । यसै कारण युवाले हस्तक्षेप गरेर अघि बढ्न समस्या भएको गैरेको भनाइ छ ।

पुराना नेताको अनुभव, योग्यता, क्षमतालाई मुलुकले प्राप्त गर्ने अवस्था सिर्जना गर्दै युवाको नेतृत्व प्राप्त गर्ने प्रक्रियालाई अघि बढाउनुपर्ने आम जनताको माग रहेको नेता गैरेले बताए । नेपालमा अब विकास र समृद्धिको राजनीति आवश्यक रहेको बताउँदै उनले त्यसका लागि अब नयाँ पुस्ता नेतृत्वमा आउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता गैरेले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट २८ हजार ६४५ मत ल्याई प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई तीन हजार ७४६ मतको अन्तरले हराएका हुन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।