बाजुराबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मंसिर १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
बाजुराबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित

धनगढी । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकाले ।

एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्यसमेत रहेका थापा यसअघि पनि पटक पटक चुनाव लड्दै आएका नेता हुन् ।

थापा २०७० को संविधानसभामा जितेर मन्त्री समेत भएका थिए । कांग्रेसका पाण्डे भने यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् ।

बाजुरा १ (१) मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाही प्रदेशसभा सदस्यमा विजयी भएका छन् भने १ (२) मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फका यी दुवै क्षेत्रमा एमालेका उम्मेदवार पराजित भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.