चार दिन रोकिएको उदयपुर - १ को मतगणना सुरु

मंसिर १३, २०७९ |भोटराज राई
चार दिन रोकिएको उदयपुर - १ को मतगणना सुरु

उदयपुर । उदयपुर - १ को प्रतिनिधिसभा सदस्यतर्फको रोकिएको मतगणना आजदेखि फेरि सुरु भएको छ ।

१६ वटा मतपेटिकाको ७ हजार ९४४ मत गन्न बाँकी छ । बिहान ११ बजेदेखि सुरु मतगणना आजै सक्ने लक्ष्य मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।

गणनाको क्रममा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको १०० वटा मतपत्र फेला परेपछि विवाद उत्पन्न भइ मत गणना रोकिएको थियो ।

विवादका कारण चार दिनसम्म मतगणना रोकिएपछि मुख्य निर्वाचन अधिकृतले ती १०० मत बदर गर्ने निर्णय गर्दै गणना अघि बढेको हो ।

मत बदर गर्ने निर्णयमा एमालेलगायतका केही दलले असहमति जनाउँदै गणनामा प्रतिनिधि नबस्ने भन्दै गणनास्थल छाडेर हिँडेका थिए । तर केहीबेर पछि उनीहरु फर्केर आएका थिए ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement