उदयपुर १ को गणना अन्योलमा, आयोगको निर्देशन पर्खिंदै मुख्य निर्वाचन अधिकृत

मंसिर १२, २०७९ |भोटराज राई
उदयपुर १ को गणना अन्योलमा, आयोगको निर्देशन पर्खिंदै मुख्य निर्वाचन अधिकृत

उदयपुर । उदयपुर – १ को मतगणना अन्यौलमा परेको छ । हिजो (आइतबार) बिहान ७ बजेदेखि रोकिएको गणना २४ घण्टा बितिसक्ता पनि अझै पुन: सुरु हुन सकेको छैन ।

उदयपुर क्षेत्र नं. १ को प्रतिनिधिसभाको मतगणनाको क्रममा १०७ मतपत्र प्रदेशसभाको फेला परेपछि विवाद उत्पन्न भएको हो ।

प्रदेशसभा १ (१) र १ (२) को अन्तिम मतपरिणाम सार्वजनिक भईसकेको अवस्थामा बढी मत फेला पर्नुले धाँधलीको आशंकामा विवाद लम्बिएको छ ।

एमालेलगायतका विभिन्न दलका १५ जना उम्मेदवार तथा उनीहरुको प्रतिनिधिहरुले पुनः मतदानको माग राखेका छन् । कांग्रेसलगायतका गठबन्धन दलहरुले गणना सुचालुको माग राखेका छन् ।

दुवै पक्षले आ-आफ्नो माग राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले उक्त निवेदनसहितको मतदान रोकिनुको कारण तथा विवरण निर्वाचन आयोगमा पठाएका छन् । आयोगको जवाफ वा निर्देशन तथा आदेशको पर्खाईमा रहेको उदयपुर अहिले गणनाको अन्यौलमा छ ।

मुख्य निर्वाचन अधिकृत सुवेदीले आयोगको पत्र बमोजिम अगाडि बढ्ने बताए ।

उदयपुर १ मा गठबन्धनबाट कांग्रेसका डा. नारायण खड्का चुनावी प्रतिस्पर्धामा छन् भने एमालेबाट मन्जुकुमारी चौधरी उम्मेदवार छिन् ।

मतगणना रोकिनु अघिसम्म खड्काले अग्रता लिएका छन् । उनले २७ हजार ४८४ मत ल्याएका छन् भने चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेकी छन् ।

उदयपुर – २ मा भने मतगणना सम्पन्न भइसकेको छ । यहाँ एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।