अछामको दुवै क्षेत्रमा सत्ता गठबन्धनको जित

मंसिर ९, २०७९ |खम्म खत्री
अछामको दुवै क्षेत्रमा सत्ता गठबन्धनको जित

अछाम । दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित विजयी भएका छन् । यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अछामका सभापतिसमेत रहेका पुष्पबहादुर शाह २२ हजार ९ सय ५४ मतसहित विजयी बने ।

कुँवरका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । कुँवर र बोहोरा बीच ४ हजार ४ सय ८९ को मतान्तर छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४,३९२ मत पाएका थिए । यस्तै क्षेत्र नम्बर २ मा शाहका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञ बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ६ हजार ८ सय ४० छ ।

एमालेका उम्मेदवार बोहोरा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज पनि हुन् । बोगटी केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह-इन्चार्ज हुन् ।

जिल्लाका चारवटै प्रदेशसभामा समेत सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका नेता झपटबहादुर साउँद विजयी भए ।

खड्काले एमाले नेता देवबहादुर कुवँरलाई ५ हजार ८ सय ४० को मतले पराजित गरे । खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका छन् । कुँवरले ६ हजार ४ सय ९७ मत पाए । यता साउँदले एमालेकै नेता तथा पूर्वजिविस सभापति कृष्णप्रसाद जैशीलाई ३ हजार ९६ को मतान्तरले पराजित गरे । साउँदले १२ हजार ११५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जैशीले ९ हजार १२ मत पाए ।

क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल रावलले ११ हजार २ सय ३१ र प्रदेश सभा (२) मा कांग्रेस नेता मानबहादुर रावलले मत प्राप्त गरी विजयी भएका छन् । रावलद्वयले एमालेका नेता भीमबहादुर विष्टलाई २ हजार ७ सय ७९ मत अन्तरले र शिवप्रसाद उपाध्यायलाई २ हजार ५ सय ५२ मत अन्तरले पराजित गरे ।

उनीहरुका निकटतम प्रतिस्पर्धी विष्टले ८ हजार ४ सय ५२ मत र उपाध्यायले ८ हजार ६ सय ६४ मत प्राप्त गरे ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।