संसदको फेरिँदो सन्तुलन : निर्वाचनअघिको सन्नाटा

मंसिर १, २०७९ |शम्भु रेग्मी
संसदको फेरिँदो सन्तुलन : निर्वाचनअघिको सन्नाटा

काठमाडौं । संविधान बनेपछि पहिलोपटक २०७४ मा सम्पन्न संसदीय निर्वाचनबाट प्रतिनिधिसभामा नौ दल र एकजना स्वतन्त्रले उपस्थिति जनाए । पाँच दल थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बने भने चार दल राष्ट्रिय पार्टी बन्न सकेनन् ।

राष्ट्रिय पार्टी बन्न सफल पाँच दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम हुन् । राष्ट्रिय पार्टी बन्न असफल चार दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नयाँशक्ति हुन् ।

संसदको पाँचवर्षे कार्यकालमा बागमतीमा धेरै पानी बग्यो । एमाले र माओवादी मिलेर एउटै दल नेकपा बन्यो । राजपा, फोरम र नयाँशक्ति मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । यो एकीकरण प्रक्रियापछि संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या घटेर ६ दलमा खुम्चियो ।

तर, संसदको कार्यकाल सकिनै लाग्दा नेकपा फुटेर तीनटुक्रा बन्यो । जसपा फुटेर तीन टुक्रा भयो । दलहरुमा देखिएको विघटन प्रक्रियासँगै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या बढेर १० पुग्यो । अहिले यी १० वटै दल मंसिर ४ को आम निर्वाचनमा जनताबाट अनुमोदित हुने प्रयासमा छन् । 

चुनावी प्रचार अभियान सकिनै लागेको छ र आँधीपूर्वको सन्नाटाझैं आम निर्वाचनअघिको मौन समय सुरु हुँदैछ ।

आगामी चुनावमा कुन दलले कति जित्ला, त्यो केही दिनमै थाहा हुने कुरा हो । तर, चुनावको चहलपहल हेर्दाखेरि आगामी संसदमा केही नयाँ दलहरु थपिने र २०७४ को राजनीतिक शक्ति सन्तुलनमा केही फेरबदल आउने विश्लेषण भइरहेका छन् ।

आगामी संसदको शक्ति सन्तुलन कस्तो होला, त्यो बेग्लै विषय हो । तर, आगामी संसदमा केही नयाँ दल र नयाँ सांसदहरुको उपस्थितिको सम्भावना चाहिँ बढेको छ । यसका साथै पहिले एक सिट (हुम्लाका छक्कबहादुर लामा) मात्रै स्वतन्त्र सांसद रहेकोमा यसपालि स्वतन्त्रको संख्या थपिन सक्ने सम्भावना पनि देखिएको छ ।

मंसिरपछि प्रतिनिधिसभामा नयाँ दलहरुको इन्ट्री हुने सम्भावना देखिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको खण्डमा संसदमा आउने नयाँ पार्टी बन्नेछन् । त्यस्तै मधेसबाट सिके राउत नेतृत्वको जनमत पार्टीले पनि संसदमा इन्ट्री गर्ने सम्भावना छ ।

यसअघि राजपाबाट चुनाव लडेर संसदमा प्रवेश नपाएका रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी खोलेका छन्, उनको दल पनि पश्चिम नेपालबाट संसदमा आउने सम्भावना बोकेको नयाँ दल हो ।

पुरानो दल भएर पनि संसदमा नआएको राष्ट्रिय जनमुक्ति पार्टीलाई रुपन्देहीमा सत्ता गठबन्धनले साथ दिएका छन् । यो दलको भाग्य अजमाउने सम्भावना पनि मंसिर ४ ले खोलिदिएको छ ।

यसपालिको चुनावमा केही बागीहरु पनि संसदमा आउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । चितवन लगायतका ठाउँबाट बागी उठेकाहरुलाई अर्को दलले समर्थन गरिदिँदा संसदमा दलविहीन प्रतिनिधिको उपस्थिति हुने सम्भावना जन्मेको छ ।

७२ ‘वरिष्ठ ज्येष्ठ नागरिक’ चुनावी मैदानमा, ३३ स्वतन्त्र वृद्ध

निर्वाचनमा नयाँ अनुहार : इन्जिनियरदेखि कमेडियनसम्म

आसन्न चुनावबारे लेखाजोखा गर्ने समय लगभग सकिएको छ । बरु यहाँ एकपटक २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फको शक्ति सन्तुलन कस्तो थियो भन्नेबारे एकपटक संक्षिप्त सिंहावलोकन गरौं–

सात प्रदेशको चुनावी लेखाजोखा

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८० सिटमा जित हासिल गरेको थियो । नेपाली कांग्रेसले २३, माओवादी केन्द्रले ३६, राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिटमा जित हासिल गरेको थियो । राप्रपा, नेमकिपा, जनमोर्चा, नयाँ शक्ति पार्टी र स्वतन्त्रबाट १–१ जना विजयी भएका थिए ।

यस्तै प्रदेशसभातर्फ ३३० सिटमध्ये नेकपा एमालेले १६७ सिटमा विजय हासिल गरेको थियो । माओवादी केन्द्र र नेपाली कांग्रेसले क्रमशः ७४ र ४५ सिटमा जित हासिल गरेका थिए । स्वतन्त्र तथा अन्य दलमा ४७ जनाले विजय हासिल गरेका थिए ।

अब सातै प्रदेशको २०७४ को शक्ति सन्तुलन हेरौं ।

प्रदेश नम्बर १ बाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ नेकपा एमाले ठूलो दल बन्यो भने माओवादी केन्द्र तथा नेपाली कांग्रेस क्रमशः दोस्रो र तेस्रो पार्टी बने ।

प्रदेश १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेले १६ सिटमा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले ६ सिट जितेको थियो । कांग्रेस ५ सिटमै चित्त बुझाउन बाध्य भयो भने १ सिटमा अन्यले जित हासिल गरेको थियो ।

यस्तै प्रदेशसभातर्फ एमालेले ३६ सिटमा जित हासिल गर्यो भने माओवादी केन्द्रले १० र नेपाली कांग्रेसले ८ सिट जिते । अन्यले २ सिटमा जित हासिल गरे । प्रतिनिधितर्फ प्रदेश १ मा २८ र प्रदेशसभातर्फ ५६ सिट छन् ।

मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ राजपाले १० सिटमा जित हासिल गर्न सफल रह्यो । संघीय समाजवादी फोरमले ९ सिट ल्याउँदा नेपाली कांग्रेसले ६ सिटमै चित्त बुझायो । यस्तै अन्य दलहरुले ७ सिटमा जित हासिल गरे । मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिट छन् भने प्रदेशसभातर्फ ६४ सिट छन् ।

प्रदेशसभामा संघीय समाजवादी फोरमले १९ सिटमा जित हासिल गर्दा राजपाले १५ सिट जित्यो । नेकपा एमालेले १४ सिट जित्यो भने कांग्रेस र अन्यले १५ सिट जिते ।

प्रतिनिधिसभातर्फ ३३ सिट रहेको वाग्मती प्रदेशबाट नेकपा एमाले पहिलो पार्टी बन्यो । एमालेले २० सिट जितेको थियो भने माओवादीले ७ सिट जितेको थियो । वागमतीमा नेपाली कांग्रेसले ५ सिट जितेको थियो ।

वाग्मती प्रदेशमा प्रदेशसभातर्फ ६६ सिटमा चुनावी प्रतिस्पर्धा भएको थियो । प्रदेशसभातर्फ एमालेले ४२ सिट ल्याएको थियो । माओवादी केन्द्रले १५ सिट ल्याउँदा नेपाली कांग्रेसले ७ सिट जितेको थियो । विवेकशील साझा लगायत अन्यले दुई सिट जितेका थिए ।

प्रतिनिधिसभातर्फ १८ सिट रहेको गण्डकी प्रदेशबाट नेकपा एमालेले १३ सिटमा जित हासिल गर्दा माओवादी केन्द्रले ३ सिट जित्यो । गण्डकी प्रदेशबाट प्रतिनिधिसभाका लागि कांग्रेसले एक सिट र अन्यले १ सिटमा जित हासिल गरेका थिए ।

प्रदेशसभातर्फ ३६ सिट रहेको गण्डकीमा एमालेले १७ सिटमा जित निकाल्यो । माओवादी केन्द्र ९ सिटमा विजयी हुँदा कांग्रेस ६ र अन्य पार्टी ४ सिटमा विजयी भए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फ २६ सिट छन् । जसमध्ये २०७४ मा एमाले १२ सिटमा विजयी हु्ँदा माओवादी ७ सिटमा विजयी भयो । यस्तै नेपाली कांग्रेसले ७ सिटमा चित्त बुझाउँदा अन्यले २ सिटमा विजयी हासिल गरे ।

५२ सिट रहेको प्रदेशसभातर्फ एमालेले २७ सिटमा जित हात पारेको थियो भने माओवादीले १५ सिट जितेको थियो । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसले ७ सिट जितेको थियो । ३ सिटमा अन्य दलले जितेका थिए ।

प्रतिनिधिसभातर्फ १२ सिट रहेको कर्णालीमा एमालेले ६ सिटमा विजयी हासिल गरेको थियो । माओवादी केन्द्रले ५ सिटमा जित निकाल्दा हुम्लाबाट स्वतन्त्र रुपमा उम्मेदवार बनेका छक्कबहादुर लामा विजयी भएका थिए । लामाले संसदमा माओवादीलाई सघाए । अहिले उनी एमाले प्रवेश गरेका छन् ।

कर्णली प्रदेशसभातर्फ एमालेले १४ सिटमा जित हासिल गरेको थियो । प्रदेशसभामा २४ सिट रहेको कर्णालीमा माओवादीका ९ जना विजयी भए भने कांग्रेसका एक उम्मेदवार मात्र विजयी भए ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका लागि १६ निर्वाचन क्षेत्र छन् । यीमध्ये नेकपा एमालेले ११ सिटमा जित हासिल गर्दा माओवादीले ३ सिट जित्यो । नेपाली कांग्रेसबाट १ सिटमा शेरबहादुर देउवाले मात्रै जिते ।

प्रदेशसभातर्फका ३२ सिटमध्ये एमालेले १७ सिट जित्यो । माओवादीले १० सिट र नेपाली कांग्रेसले ४ सिट जिते । एक सिटमा अन्यले जित हासिल गरेको छ ।

मिलिजुली सरकारको सम्भावना बढी

आसन्न २०७९ सालको निर्वाचनमा कुनै पनि दलको एकल बहुमत नआउने र मिश्रित नतिजा आउने सम्भावना रहेको विश्लेषकहरुको आकलन छ ।

यसअघिको निर्वाचनमा वाम गठबन्धन चुनावी मैदानमा थियो भने अहिले कांग्रेस, माओवादीलगायत पाँचदलीय गठबन्धन चुनावी मैदानमा छ । उता नेकपा एमालेले राप्रपा र जसपासँग गठबन्धन बनाएको छ । दुवैतिर गठबन्धन बने पनि स्वतन्त्रले समानुपातिक र प्रत्यक्षतर्फको मत काट्ने भएकाले कसैको एकल बहुमत नआउने विश्लेषण भइरहेको छ । कुनै पनि दलको बहुमत आउन सकेन भने मिलिजुली सरकार बन्ने र देशमा राजनीतिक अस्थिरताको खतरा बढ्न सक्छ ।

नेकपा माओवादी केन्द्रका नेता गणेश साह यसपालिको चुनावबाट कही नयाँ दल थपिने र केही संसदबाट बाहिरिने दाबी गर्छन् । चुनावपछि गठबन्धन (मिलिजुली) कै सरकार बन्ने उनी बताउँछन् । उनले कान्तिपुरसँग भने, ‘कुनै पनि दलले बहुमत ल्याउने सम्भावना अहिले देखिँदैन । गठबन्धनकै सरकार बन्ने पक्का छ ।’

पुराना र नयाँको बहस

यसपालिको निर्वाचनमा पुराना दल र नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसपालि पुराना र अनुभवी नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, ईश्वर पोखरेल, शेखर कोइराला, चित्रबहादुर केसी, उपेन्द्र यादव लगायत तुनावी मैदानमा छन् ।

त्यस्तै दोस्रो र तेस्रो पुस्ताका घनश्याम भुसाल, गगन थापा, विश्वप्रकाश शर्मा, अस्मिता सिंह (मानुषि) यमि भट्टराई, सागर ढकाल, तोसिमा कार्की, श्रीराम गुरुङ, हिमेष पन्त, रामकुमारी झाँक्री, रवि लामिछाने, अब्दुस सलाम मिया, प्रदीप पौडल, रञ्जु दर्शना लगायतका युवा पुस्ता चुनावी मैदानमा छन् ।


Image

शम्भु रेग्मी

रेग्मी कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement