स्मार्ट चुनाव प्रचार : टिकटकदेखि र्‍यापसम्म, फेसबुकले लग्यो ६० हजार डलर

कार्तिक ३०, २०७९ |संगम ढकाल
स्मार्ट चुनाव प्रचार : टिकटकदेखि र्‍यापसम्म, फेसबुकले लग्यो ६० हजार डलर

काठमाडौं । देश चुनावी ‘मुड’मा छ । चुनाव आउन अब चार दिन मात्र बाँकी छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लागि राजनीतिक दलका तथा गैरदलीय उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन् ।

कोही उम्मेदवार आफ्नो चुनाव चिह्न ‘लौरो’ टेक्दै घरदैलो अभियानमा छन् । कोही घण्टी बोकेर हिँडेका छन् । एकथरी हातमा सुई बोकेर त कतिपयले असली माछा नै बोकेर चुनाव प्रचार गरेको देख्न सकिन्छ ।  कोही पुरानै शैलीमा चप्पल पड्काउँदै र गीत घन्काउँदै मतदाताका घर–घरमा पुगिरहेका छन् ।

यसपालिको चुनावमा विगतजस्तो तुल ब्यानर पर्चा पम्प्लेटको बाढी आएन । चुनावका बेला ब्यानर लेखेर पैसा कमाउने सोचमा रहेका व्यवसायी निराश देखिए । चुनाव प्रचारमा ‘भर्चुअल’ माध्यमको प्रयोग गर्ने क्रम   विगत भन्दा बढेको देखियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचार गर्न ठमेलस्थित रात्रीकालीन क्लब ‘एलओडी’ सम्म पुग्न भ्याए । उनी एमालेको चुनावी प्रचारको र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् । उनले चुनावी प्रचारका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूको सामाजिक सञ्जालमा बाक्लो उपस्थिति छ । अन्य नेताले चुनावी प्रचारका कार्यक्रम फेसबुकमा लाइभ प्रसारण गरेका छन् ।

टिकटकबाट चुनाव प्रचार

अहिले टिकटक चुनावमय भएको छ । टिकटक खोल्नासाथ उम्मेदवारहरू चुनावी घरदैलोमा अभियानमा रहेको, मतदातको खेतबारीमा धान काटिरहेको, क्यारेमबोर्ड खेलेको, र्‍याली, सभा गरेका दृश्य प्रशस्त देख्न पाइन्छ ।

अर्थात् उम्मेदवारहरूले डिजिटल चुनाव प्रचारका लागि टिकटकलाई गतिलो माध्यय बनाएका छन् । कतिपय उम्मेद्वारले टिकटक स्टारलाई नै चुनावी प्रचारमा प्रयोग गरेका छन् । आशालाग्दा उम्मेदवारलाई टिकटक स्टार स्वयंले प्रचारमा सहयोग गरेका छन् ।

काठमाडौं १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले चुनावी प्रचारका लागि आवाजमा टेलिभिजनकर्मी भुषण दाहालको साथ लिएका छन् । उनको निर्वाचन प्रचारको एक भिडियो सामग्रीमा दाहालले आवाज दिएका छन् । पूर्वपत्रकार मिश्र आफैँ दमदार आवाजका धनी हुन् ।

टिकटकमा मिश्रको बाक्लैै उपस्थिति छ । उनका भाषण, अन्तर्वार्ता र घरदैलो कार्यक्रमका भिडियो टिकटकमा भाइरल छ । राप्रपाको काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार मिश्रले चुनावी प्रचारका लागि प्रविधिको प्रयोग गरेका छन् ।

पूर्वडीआईजी रमेश प्रसाद खरेल पनि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार हुन् । केही दिन अघिसम्म उनी पछाडि झोला भिरेर हातमा पर्चा बोक्दै मतदाताको घरघरमा हिँड्दै गरेको अवस्थामा भेटिन्थे । उनको प्रचार शैली पुरातन जस्तो देखिए पनि घरदैलो गरेका दृश्यहरु उनले टिकटकमा समेट्न बिर्सेनन् ।

सामाजिक सञ्जालमा खरेलको उपस्थिति बाक्लो छ । फेसबुकमा उनका ५९ हजार बढी फलोअर्स छन् । उनले टिकटकमा पनि चहल–पहल देखाइरहेका छन् ।

श्रीराम गुरूङ काठमाडौं क्षेत्र नं. ५ का स्वतन्त्र उम्मेदवार हुन् । सोसल मिडियालाई उनले पनि उपयोग गरेका छन् । उनले युवा पुस्ताले रुचाएको हरेक ‘पडकास्ट’ भ्याएका छन् ।

निर्वाचन आयोगका अनुसार गुरुङ धेरै डलर खर्च गरेर सामाजिक सञ्जालमा विज्ञापन गर्ने स्वतन्त्र उम्मेदवार हुन् । टिकटकमा उनका १४ हजार बढी फलोअर्स छन् ।

चुनावी प्रचार गर्न एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालको प्रयोग बढाएका छन् । ओलीको आफ्नै आधिकारिक टिककट खाता छ ।

यी बाहेका पनि प्रायः सबै नेताले चुनावी प्रचारमा प्रविधिको प्रयोग गरेका छन् । उनीहरू परम्परागत घरदैलो कार्यक्रममा पनि उत्तिकै सक्रिय छन् ।

‘र्‍याप’देखि ‘नाइट क्लब’सम्म

हिपपको सबैभन्दा चर्चित र लोकप्रिय विधा ‘र्‍याप’ हो । र्‍याप विश्वको प्राय सबै देशमा फैलिएको छ । नेपालमा पनि यो विधा युवापुस्ता माझ निकै लोकप्रिय छ । तर, नेपाली समाजले र्‍यापलाई संगीतको रूपमा स्वीकार नगरेको अवस्था छ ।

तर, यस निर्वाचनमा युवा पुस्तालाई आकर्षण गर्न तथा प्रचारको लागि दलहरूले ‘र्‍यापको साहारा लिएका छन् । नेकपा एमाले, माओवादी केन्द्र लयायतका ठूला राजनीतिक दलहरूका चुनावी प्रचारको र्‍याप गीत चर्चामा छन् ।

एमालेको ‘बा केपी बा’ र माओवादीको ‘भोट फर माओवादी’ शीर्षकका र्‍याप गीतको सामाजिक सञ्जालमा चर्चा छ ।

अन्य दलका तथा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारको र्‍याप गीतमा घरदैलो गरेको टिकटक भिडियो बनाएका छन् ।

यो चुनावमा उम्मेद्वारहरूले र्‍याप र टिकटकलाई चुनावी विज्ञापन गर्न प्राथमिकतामा राखेको पाइन्छ । चुनावी प्रचारमा आधुनिक तथा लोक गीतहरू भने बाक्लै प्रयोग हुन्छन् ।

फेसबुकले लग्यो ६० हजार डलर

राजनीतिक दलका शीर्ष नेताहरू डिजिटल चुनावी प्रचारमा आकर्षित भएका छन् । डलर तिरेर विज्ञापन गर्ने अभ्यास मौलाएको छ । विषेश गरी सहरी क्षेत्रका र स्वतन्त्र उम्मेदवारहरू फेसबुक ‘बुस्टिङ’मार्फत् चुनावी प्रचार गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू राजनीतिक दलका तुलनामा बढी डिजिटल प्रचारमा लागेका छन् । काठमाडौं क्षेत्र नं. ५ का स्वतन्त्र उम्मेदवार श्रीराम गुरूङले फेसबुकमा विज्ञापन गर्न ३ हजार तीन सय ९६ डलर खर्चका छन् । उनी फेसबुक विज्ञापनमा बढी खर्च गर्ने उम्मेदवार हुन् ।

सामाजिक सञ्जालका कारण चुनावी प्रचार अभियान गर्न सहयोग भएको काठमाडौं क्षेत्र नं. ५ का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ बताउँछन् ।

निर्वाचन आयोगको रेकर्डअनुसार श्रेष्ठले हालसम्म फेसबुकमा चुनावी प्रचारको विज्ञापन गर्न १ हजार ३ सय ९४ डलर खर्च गरेका छन् । उम्मेदवार श्रेष्ठले भने, ‘समय पनि सीमित भएका कारण मैले सामाजिक सञ्जालमा मिसन/भिजन सार्वजनिक गरेको छु । म घरदैलोमा जाँदा ७० प्रतिशतभन्दा बढीले सामाजिक सञ्जालमा तपाईंलाई हेरेको थिएँ भन्नुहुन्छ ।’

सामाजिक सञ्जालमा चुनावी प्रचार गर्न उम्मेदवारलाई सहज भए पनि यसको बेफाइदा पनि छ । फेसबुकमा चुनावी सामग्रीको विज्ञापन गर्दा गलत सूचना प्रवाह हुने खतरा बढेको आईटी कन्सल्टेन्ट इकेश खड्काको बुझाइ छ ।

इकेश भन्छन्, ‘अहिले बुस्टिङ गरेर समाजिक सञ्जालमा निर्वाचन प्रचार भइरहेको छ । यसले उम्मेदवारलाई सहज त बनाएको छ । तर, यसले भ्रामक सूचनाको खतरा पनि उत्तिकै बढाएको छ ।’

निर्वाचन आयोगका अनुसार भदौ २३ गतेदेखि बुधबारसम्म सामाजिक सञ्जालमा चुनावी सामग्री प्रचार गरेबापत् उम्मेदवारहरूले ६० हजार डलरभन्दा बढी खर्च गरिसकेका छन् । अर्थात, चुनावमा फेसबुकबाट विज्ञापन गर्दा ६० हजार डलर बाहिरिएको छ । यो क्रम अझै जारी छ । यो खर्च पनि दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने पाउने कुल खर्चमै जोडिने आयोगले स्पष्ट पारेको छ ।

कसले खर्चियाे कति डलर ?

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ सय ४९ डलरमा तीनवटा निर्वाचन समाग्रीको विज्ञापन गरेका छन् ।

त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले १ सय ८६ डलरमा ११ वटा विज्ञापन गरेका छन् ।

राप्रपा नेपालमा अध्यक्ष कमल थापाले एक सय डलरमा दुईवटा विज्ञापन गराएका छन् ।

जनता समाज पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले ७ सय ४० मा डलरमा २२ वटा विज्ञापन गरेका छन् ।

कांग्रेस नेता शशांक कोइरालाले एक सय डलर दरका नौवटा निर्वाचन प्रचार सामग्री फेसबुकमा विज्ञापन गरेका छन् ।

आयोगको टाउको दुःखाइ

तुल ब्यानरको साटो डिजिटल प्रविधि प्रयोग गरेर चुनाव प्रचार गर्नु राम्रो कार्य भएता पनि यसबाट आउन सक्ने ‘खतरा’ प्रति आयोगले सूक्ष्म निगरानी गरिहेको आयोगका अधिकारीहरु बताउँछन् ।

सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चलाई पनि उम्मेदवारको निर्वाचन खर्चमा समावेश गरिनुपर्ने आयोगले निर्णय गरिसकेको छ । त्यस्तै सामाजिक सञ्जालमा ग्रुपहरु बनाएर गरिने संगठित प्रचारले भोलि भड्कावको रुपसमेत लिन सक्ने भन्दै आयोगले विभिन्न फेसबुक ग्रुपहरुलाई निगरानी गरिरहेको आयोगको भनाइ छ ।

विदेशबाट सामाजिक सञ्जालमा चुनावी विज्ञापन गर्न रोक लगाएको आयोगको दाबी छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार सामाजिक सञ्जालमा उम्मेदवार तथा राजनीतिक दलहरूले नेपालभित्रबाट मात्र विज्ञापन गर्न पाउँछन् ।

आफ्ना उम्मेदवारको प्रचार सामग्री पोस्ट गर्ने स्वतन्त्रता भने सबैलाई रहेको भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘फेसबुकले विदेशबाट विज्ञापन गर्न नपाउने व्यवस्था गरेको छ ।’

निर्वाचनको मौन समय सुरु भएपछि सामाजिक सञ्जालमा आएका विज्ञापन हटाउने गृहकार्य भइरहेको आयोग स्रोतले बतायो । यसका लागि सिंगापुरमा रहेको फेसबुक मेटाको कार्यालयसँग कुराकानी भइरहेको आयोग स्रोतले जानकारी दियो ।