
दाङ । एसईई परीक्षामा नियमित र ग्रेडवृद्धि गरी दाङबाट १३ हजार ९ सय ९८ विद्यार्थी सहभागी छन् ।
सबैमा एक खालको उत्साह भइरहँदा एसईई परीक्षा दिइरहेका दृष्टिविहीन विद्यार्थीलाई भने चिन्ता छ। किनभने ब्रेललिपिमा प्रश्नपत्र नआउने हुनाले उनीहरूले आफैंले परीक्षामा लेख्न पाउँदैनन् । लेखन सहयोगी राख्दा परीक्षाफल कस्तो होला भन्ने चिन्ताले उनीहरूलाई सताएको हो ।
उनीहरूले ब्रेललिपिको प्रश्नपत्र र उच्चशिक्षासम्म सोहीअनुसारको पाठ्य सामग्रीको माग पनि गरेका छन् । गुरू जजुर माविमा कक्षा १० मा अध्ययनरत सल्यानकी गीता वली र रोल्पाकी लक्ष्मी विक जन्मजात दृष्टीविहीन हुनुहुन्छ। उहाँहरूले यो विद्यालयमा पढ्नथालेको १० वर्ष भयो।
विद्यालयमा ब्रेललिपिको माध्ययमबाट पढ्दै आए पनि प्रश्नपत्र ब्रेललिपीमा नआउने भएका कारण उहाँहरू आफैंले परीक्षामा लेख्न सक्नुहुन्न । त्यसैले लेखन सहयोगी राखेर परीक्षा दिइरहनुभएको छ । आफैंले उत्तर लेख्न नपाउँदा परीक्षा कस्तो भयो होला भन्ने चिन्ता उहाँहरूलाई छ ।
गुरु जजुर माविमा अहिले १ कक्षादेखि १२ कक्षासम्म २३ छात्र, २४ छात्रा गरी ४७ दृष्टीविहीन विद्यार्थीले विभिन्न कक्षामा पढिरहेका छन्। बाल विकासदेखि १२ कक्षासम्म २७ सय विद्यार्थी पढ्ने गुरुजजुर माविमा १ स्थायी र २ जना राहत गरी ३ जना पूर्णदृष्टीविहीन शिक्षक हुनुहुन्छ।
ब्रेललिपिमा पढाइ त हुन्छ तर प्रश्नपत्र ब्रेललिपिमा नआउँदा विद्यार्थी मात्रै होइन दृष्टीविहीन शिक्षकहरूलाई पनि उत्तरपुस्तिका परीक्षणलगायतमा निकै समस्या छ । दाङभर यसपटक पाँच जना दृष्टिविहीन विद्यार्थीले एसईई दिइरहेका छन्। लेखन सहयोगीले प्रश्न भनिदिने, परीक्षार्थीले उत्तर भन्ने र लेखन सहयोगीले कापीमा उतार गरिदिने प्रक्रिया बोझिलो भएको, लेखन सहयोगी जुटाउनुपर्ने झन्झट, आफूले भनेको उत्तर लेखन सहयोगीले देखिदियो कि लेखिदिएइन भन्ने अर्को चिन्ता दृष्टीविहीन विद्यार्थिले भोग्नुपरिरहको छ।