
काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा एसईई सकिएको एक महिनामै नतिजा प्रकाशित गर्ने भएको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि पास गरेर परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र संपरीक्षण गरी एक महिनामै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । विगतका वर्षहरूमा परीक्षा सम्पन्न भएको ७९औं दिनमा नतिजा प्रकाशित गर्दै आएको थियो । तर, यसपटक एक महिनामै कसरी सम्भव हुन्छ त नतिजा प्रकाशन गर्न ।
माध्यामिक शिक्षा परीक्षा एसईई बिहीबारदेखि सुरू हुने भएको छ । विद्यालय तहको परीक्षा सुधार गर्ने उद्देश्यले सरकारले यस पटकदेखि परीक्षा सकिएलगतै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र संपरीक्षण गर्ने भएको छ । विगतका वर्षहरूमा परीक्षा सकिएलगतै उत्तरपुस्तिका सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा पुर्याइने र त्यसपछि परीक्षण केन्द्रमा लगेर परीक्षण गर्ने चलन थियो । तर, यस पटकदेखि सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिने भएको हो ।
उत्तरपुस्तिका परीक्षणका लागि देशभरका ५५ वटा परीक्षण केन्द्रमार्फत विषय विज्ञ शिक्षकहरूबाट परीक्षण हुँदै आएको थियो । विद्यालय तहको परीक्षा सुधार गर्ने उद्देश्यले शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईई सकिएको एक महिनामै परीक्षाफल प्रकाशित गर्ने निर्णयमा पुगेको हो ।
बोर्डले उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि संशोधन गरी गाइडलाइनसमेत तयार गरिसकेको छ । परीक्षा सकिएको दुई दिनमै सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण गरिसक्ने र त्यसपछि सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा विद्यार्थीको प्राप्तांक इन्ट्री गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने कायविधिमा उल्लेख छ । तर, देशभरका समन्वय इकाईमा कम्युटर अपरेटरदेखि जनशक्तिको अभाव छ ।
कसरी विद्यार्थीको प्राप्तांक इन्ट्री गर्ने भन्नेमा शिक्षाका अधिकारीहरू अन्योलमा छन् । देशभर ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी एसईई परीक्षा व्यवस्थित र मयादित बनाउन १ हजार ९ सय ६६ परीक्षा केन्द्र निधारण गरिएको छ । साधारणधार, प्राविधिक र संस्कृतका गरी १ सय २८ विषयको परीक्षा हुन्छ ।
विगतका वर्षहरूमा उत्तरपुस्तिका परीक्षणमा एकरूपता ल्याउन विषयगत शिक्षकहरूको प्रवोधिकरण गरिन्थ्यो । तर, यसपटक त्यो पनि सम्भव देखिँदैन । यस वर्ष केन्द्राध्यक्षलाई बढी जिम्मेवार र जवाफदेही बनाइएको छ । परीक्षाफल छिटो प्रकाशित गर्ने नाममा विद्यार्थीको नतिजा गुणस्तरीय र विश्वसनीय बनाउन पनि उतिकै जरूरी छ ।