एसईई सकिएपछि विद्यार्थीहरू घरमै बसेर आफ्नो रूचि र क्षमताअनुसार तयारीमा लाग्ने

चैत्र २४, २०८२ |नारायण किलम्बू
एसईई सकिएपछि विद्यार्थीहरू घरमै बसेर आफ्नो रूचि र क्षमताअनुसार तयारीमा लाग्ने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा अर्थात् कक्षा १० एसईई परीक्षा आगामी बिहीबार सकिँदैछ । 

संस्कृत र प्राविधिक धारको परीक्षा भने अझै केही दिन सञ्चालन हुनेछ । परीक्षापछि माथिल्लो कक्षामा राम्रो कलेज र विषय अध्ययन गर्नका लागि विद्यार्थीहरू केन्द्रित हुन्छन् । सरकारले ब्रिजकोर्स र तयारी कक्षा बन्द गरेसँगै घरमै बसेर तयारीमा जुट्ने विद्यार्थीहरूले बताएका छन् ।

एसईई परीक्षा दिएका देशभरका ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी केही दिनपछि फ्री हुँदै छन् । परीक्षा सकिएपछि ती विद्यार्थीहरू विद्यालय जीवनबाट केही स्वतन्त्र र फुर्सदिला हुने छन् । केही दिन साथीभाइसँग घुमफिर पछि आफ्नो उज्वल भविष्यका लागि उनीहरू माथिल्लो कक्षामा राम्रो विषय र कलेज अध्ययनको तयारीमा जुट्ने तरखरमा छन् । 

उज्वल भविष्यका लागि रूचि र क्षमता अनुसारको विषय अध्ययन गर्न समयको सदुपयोग गरी तयारीमा लाग्ने योजना बुनेको विद्यार्थीहरू बताउँछन् । एसईईपछिको शिक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले फुर्सदको सदुपयोग गर्दै माथिल्लो कक्षामा राम्रो विषय अध्ययनका लागि घरमै बसेर तयारी गर्ने उनीहरू बताउँछन् । 

अघिल्ला वर्षहरूमा भने एसईई सकिएलगतै विद्यार्थीहरू ब्रिजकोर्स र प्रवेश परिक्षा तयारी कक्षामा सहभागी हुन्थे । तर, सरकारले यस वर्षदेखि ब्रिजकोर्स र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालामा रोक लगाएसँगै वैकल्पिक माध्यम अनलाइनलगायत प्रयोग गरी तयारीमा लाग्ने उनीहरूको योजना छ ।

त्यसो त नाम कहलिएका ठूला विद्यालयले पनि एसईईलगतै विद्यार्थी भर्नामा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो । ब्रिजकोर्स र तयारी कक्षा बन्द गर्ने निर्णय पछि एसईई विद्यार्थीलाई समयकको सदुयपोगका लागि कसरी तयारीमा लगाउने भन्ने दुविधामा रहेको अभिभावक र शिक्षकहरु बताउँछन् । 

उनीहरूले कक्षा १० कै पाठ्यपुस्तकको राम्रो रिभ्यू गर्न र अन्य सृजनात्मक र सीपमुलक गतिविधिमा सहभागी गराउन सुझाव दिएका छन् । त्यसका अलावा आफ्नो उज्वल भविष्यका लागि विज्ञ र अग्रज शिक्षक अभिभावकसँग परामर्श गरी तयारी जुट्न उनीहरूले सुझाएका छन् ।

एसईईपछिको अध्ययनले नै चिकित्सा शिक्षा इन्जिनियरिङलगायत उच्च शिक्षाको ढोका खोल्ने हुनाले विद्यार्थीलाई यो नै विषय पढ भनेर दबाब दिनु राम्रो नहुने शिक्षाविद्हरू बताउँछन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।