
काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा-एसईई सरेको छ ।
बुधबार बसेको परीक्षा बोर्डको बैठकले आगामी चैत ७ देखि तय गरिएको परीक्षा निर्धारित समयभन्दा १२ दिनपछि अर्थात् चैत १९ देखि गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा १२ दिन पछि सारेर चैत १९ देखि २९ गतेसम्म लिने निर्णय गरेको छ ।
परीक्षाका लागि प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने गरिएकोमा अहिले मतपत्र छपाइ भैरहेकाले परीक्षा दुई साता पछि सार्ने निर्णयमा बोर्ड पुगेको हो । एसईईमा नियमिततर्फ ४ लाख ५२ हजार र ग्रेडवृद्धिसमेत गरी ५ लाख १५ हजारको हाराहारीमा विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षाका प्रश्नपत्रसमेत सुरक्षाका दृष्टिकोणले एक हप्ताअघिदेखि जिल्लास्थित प्रहरी कार्यालयमा राख्ने गरिन्छ । तर यसपटक प्रहरी, शिक्षक लगायत चुनावमा खटिनुपर्ने भएकाले पनि परीक्षा सार्नुपर्ने बाध्यता रहेको परीक्षा बोर्डको भनाइ छ । तर १२ कक्षाको परीक्षा भन्ने निर्धारित तालिका अनुसार नै लिइने बोर्डले जनाएको छ ।
परीक्षा दुईसाता ढिलो लिए पनि नतिजा भन्ने निर्धारित समयमै प्रकाशित गर्ने परीक्षा बोर्डको तयारी छ । यसैगरी न्याय, प्रशासन, लेखापरीक्षण, संघीय संसदलगायतका २८ विधाहरुमा ७३ पदका लागि तय गरिएको परीक्षा स्थगित गरिएको लोकसेवा आयोगले जनाएको छ ।