काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण धेरै सरकारी परीक्षाहरू स्थगित भएका छन् ।
कहाँसम्म भने चैतमा हुने एसईई समेत सर्ने भएको छ । आसन्न निर्वाचनको आसपासमा परीक्षा लिने तयारी गरेका सरकारी निकायहरूले धमाधम परीक्षा स्थगित गर्न थालेका हुन् । लोकसेवा आयोगले उपसचिव वा सो सरहको लिखित परीक्षाका कार्यक्रम स्थगित गरेको छ भन्ने एसईई, सिटीइभिटी लगायतका परीक्षा पनि सार्ने तयारी भएको छ ।
लोकसेवा आयोगले माघ १० देखि २८ गतेसम्म राजपत्रांङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरहको लिखित परीक्षा लिने तयारी गरेको थियो । आयोगले न्याय, प्रशासन, लेखापरीक्षण, संघीय संसद् लगायतका २८ वटा विज्ञापनका ७३ पदका लागि परीक्षा लिन लागेको हो । तर फागुन २१ गते हुने निर्वाचनका लागि कर्माचारीहरू खटिनु पर्ने भएकाले परीक्षा स्थगित गर्ने निर्णय आयोगले गरेको छ ।
लोक सेवा आयोगको उक्त परीक्षामा सहभागी हुने उम्मेदवारहरू कर्मचारी नै हुने भएकाले उक्त परीक्षापछि सार्न निर्वाचन आयोगको आग्रह अनुसार परीक्षा स्थगित गरिएको आयोगको भनाइ छ । निवार्चनकै कारण माध्यामिक शिक्षा परीक्षा एसईई सर्ने देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा चैतको पहिलो साता लिने कार्यतालिका थियो । ५ लाख १५ हजार विद्यार्थी सम्मिलित हुने परीक्षाका लागि प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने गरिएको छ । तर जनक शिक्षामा पुस २२ गतेदेखि निर्वाचनका लागि मतपत्रको छपाइ भैरहेको छ ।
सुरक्षाको दृष्टिकोणले दुबै काम एकैसमय र ठाउँमा गर्न नमिल्ने भएकाले एसईई परीक्षा केही दिनपछि सर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसो त जनक शिक्षा सामाग्री केन्द्रले पनि मतपत्र छपाइ भैरहेकोले सोहि समयमा एसईईको प्रश्नपत्र छपाइ गर्न नसकिने स्पष्ट पारेको छ ।
परीक्षा बोर्डले छिट्टै बैठक बसेर एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ । त्यसो त प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीको डिप्लोमा तहको इन्जिनियरिङ कृषि वन होटल मेनेजमेन्टलगायतका विषयहरूको परीक्षा फागुनको २६ गतेदेखि लिने तयारी छ । त्यसका लागि प्रश्नपत्र जनक शिक्षामै छाप्ने गरिन्छ । सीटीइभिटीको परीक्षा पनि सर्ने सम्भावना छ ।
फागुन १ देख ७ सम्म कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तालिक छ । सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुँदा त्यो प्रतियोगता समेत प्रभावित हुने सम्भावना छ ।