
काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण घाइते हुने नेपालीको संख्या १७ पुगेको छ ।
शनिबारमात्र इराकमा दुई जना नेपाली घाइते भएका छन् । उनीहरूको नाम र ठेगाना खुलाइएको छैन । परराष्ट्र मन्त्रालयका अनुसार इराकको बगदादमा नेपाली श्रमिक बसेको घरमा बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् । इरानले पश्चिम एसियाका अमेरिकी सैन्य केन्द्रलाई निसाना बनाउने क्रममा इराकका पनि आक्रमण गर्दै आएको छ ।
हालसम्म एक जनाको मृत्यु भइसकेको छ । यस्तै युद्धको बारेमा भिडियो बनाएको तथा अनर्गल प्रचार गरेको कसुरमा पाँच नेपाली पक्राउ परेका छन् । संयुक्त अरब इमिरेट्समा दुई, साउदी अरेबियामा दुई तथा कुवेतमा एक जनालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।
परराष्ट मन्त्रालयले सम्बन्धित देशका कानुन र सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । पक्राउ परेका नेपालीलाई जरिवाना, जेल र देश निकालासम्म कारबाही हुनसक्नेछ । यस्तै परराष्ट्रले कुवेतमा ४० महिलालाई सुरक्षित सेल्टरमा राखिएको जनाएको छ ।
हालसम्म ७२ हजार २ सय ३५ जनाले सम्बन्धित मुलुकस्थित दूतावासका वेबसाइटमा नाम दर्ता गराएका छन् । तीमध्ये पाँच हजारले जोखिममा रहेको जनाएकाले उनीहरूको उद्धारका लागि समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले अति जरूरी परेका नेपाली श्रमिकलाई साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गर्ने जनाएको छ ।
ओमान, कतार, कुवेत, बहराईन र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई साउदी अरब जान भिसा सहजीकरण गरिने भएको छ । साउदी अरेबियाबाट सीमित उडान भइरहेकाले त्यहाँबाट यात्रा गर्न सकिने जनाइएको छ ।