
काठमाडौं । शिक्षामा निजी लगानी सुनिश्चित गर्न उच्च शिक्षालय सञ्चालकहरूले सरकारसँग माग गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा सहभागीहरूले निजी क्षेत्रले राज्यले पुर्याउन नसकेको क्षेत्रमा सेवा विस्तार गरेर शिक्षा क्षेत्रलाई समावेशी गुणस्तरीय जनशक्ति उत्पादन गरिरहेको भन्दै करिब ३ खर्ब शिक्षाको लगानी सुनिश्चित गर्न माग गरेका हुन् ।
उच्च शिक्षालय सञ्चालकहरूले उच्चशिक्षा अध्ययनका लागि बर्षेनि १ लाख २० हजारको हाराहारीमा विद्यार्थीहरू विदेशिएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले पढ्दै कमाउँदै गर्ने खालका उच्चशिक्षा नीति ल्याएर स्वदेशीमा गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन आवश्यक रहेको पनि बताए ।
विभिन्न आन्दोलनको नाममा होस् वा राजनीतिक दलहरूले गर्ने संघर्ष निजी क्षेत्र तारोमा परेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा रूपान्तरण गरी पढ्ने पढाउने वातावरणकाे सुनिश्चितता गर्नुपर्ने उच्च शिक्षालयका सञ्चालकहरूले जोड दिएका छन् ।
उनीहरूले समावेशी र गुणस्तरीय शिक्षाका लागि सार्वजनकि निजी साझेदारीलाई प्राथमिकताका साथ अगाडि लैजान आवश्यकता रहेको पनि बताए । देशभरका ३ सय ५० भन्दाबढी प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।