काठमाडौं । शिक्षाशास्त्र पढाइ हुने देशका ६ वटै विश्वविद्यालयहरूबाट बर्सेनि २० हजारभन्दा बढी जनशक्ति उत्पादन हुन्छन् ।
अधिकांश तिनको लक्ष्य हुन्छ-शिक्षण पेसामा जान् । तर सरकारले विद्यालय तथा विश्वविद्यालयमा शिक्षकको नियमित खुला विज्ञापन गर्न नसक्दा यस्ता जनशक्ति बेराजगार हुनुपरिरहेको छ । यहीकारण पछिल्ला वर्ष शिक्षा संकायमा भर्ना हुने विद्यार्थी निकै कम हुन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट यो वर्ष १६ हजार पाँच सय जनाले स्नातकदेखि विद्यावारिधिसम्म गरे । त्रिविवाहेक काठमाडौं, पुर्वाञ्चलसहित अन्य पाँचवटा विश्वविद्यालयबाट बर्सेनि तीन हजार हाराहारीमा जनशक्ति उत्पादन हुन्छन् । शिक्षाशास्त्र संकायबाट उत्पादित अधिकांश जनशक्ति शिक्षण पेसामा जान चाहन्छन् । तर शिक्षकको नियमित विज्ञापन हुन नसक्दा उत्पादित जनशक्ति बेरोजगार हुनु परिरहेको छ ।
सरकारले नियमित रूपमा शिक्षकको विज्ञापन नगर्दा अहिले पनि विद्यालय तहको निमावि र माविमा धेरै शिक्षकको अभाव छ । अझ गणित, अँग्रेजी र विज्ञानजस्ता महत्वपूर्ण विषयमा शिक्षक नहुँदा एसईईमा धेरै विद्यार्थी फेल हुने गरेका छन् । दरबन्दी मिलान प्रतिवेदनले २०७५ मै विद्यालय तहमा ५२ हजार शिक्षक आवश्यकता रहेको औल्याए पनि सरकारले नयाँ दरबन्दी नै सृजना गरेको छैन ।
शिक्षा मन्त्रालयबाट शिक्षकको विज्ञापनका लागि माग नहुँदा नियमित रूपमा खुला विज्ञापन गर्न नसकेको शिक्षक सेवा आयोगको भनाइ छ । विश्वविद्यालयबाट शिक्षाशास्त्र संकाय उत्तीर्ण गरेका ९ लाखले शिक्षक सेवा आयोगबाट शिक्षकको अध्यापन अनुमतिपत्र लिइसकेका छन् ।
आयोगका अनुसार यो वर्ष ६ सय ८६ शिक्षक पदका लागि खुला विज्ञापन हुँदा ५७ हजारको आवेदन परेको थियो । अझै धेरै जनशक्ति विज्ञापनको पर्खाईमा छन् । त्यसो त उच्च अंक ल्याएका विद्यार्थीको शिक्षाशास्त्र संकायमा आकर्षण हुन नसक्दा विद्यालय शिक्षासमेत कमजोर भएको गुनासो आउने गरेको छ । त्यसैले मेधावी विद्यार्थीको आकर्षण बढाउन र शिक्षकको नियमित विज्ञापनतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।