काठमाडौं विश्वविद्यालयमा ‘आईटी मिट-२०२५’ पुस ११ मा हुने

पुस ८, २०८२ |पुजन धिताल
काठमाडौं विश्वविद्यालयमा ‘आईटी मिट-२०२५’ पुस ११ मा हुने

काभ्रे । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब-केयूसीसीले आयोजना गर्न लागेको केयू ‘आईटी मिट-२०२५’ पुस ११ गते आयोजना हुने भएको छ। 

कार्यक्रमबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हाे। पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको आईटी मिट “कनेक्ट, कमप्युट क्रिएट” नाराका साथ आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रविधि, नवप्रवर्तन र उद्योग-शैक्षिक सहकार्यलाई कार्यक्रमको मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।

आयोजकका अनुसार आईटी मिट -२०२५ अन्तर्गत १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएका छन्। ती कार्यक्रमहरूमा प्रि-इभेन्ट, ह्याकाथन, प्रोजेक्ट प्रदर्शनी, करियर फेयर, प्यानल छलफल, आईटी क्विज तथा गेमिङ प्रतियोगिताहरू रहेका छन्। यसले विद्यार्थी, विश्वविद्यालय र प्रविधि उद्योगबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा केयू ह्याक फेस्ट-२०२५ आयोजना गरिनेछ। डिसेम्बर २४ र २६ मा सञ्चालन हुने ४८ घन्टा लामो यस ह्याकाथनमा एआई/एमएल, एआर/भीआर र ब्लकचेन जस्ता प्रविधि प्रयोग गरी सहभागीहरूले विभिन्न प्रोजेक्ट निर्माण गर्नेछन्। ह्याकाथनमा १६१ टोलीका १५० भन्दा बढी विद्यार्थी सहभागी हुने र २ लाख ५० हजार रूपैयाँभन्दा बढी पुरस्कार वितरण गरिने जनाइएको छ।

मुख्य दिन डिसेम्बर २६ मा आयोजना हुने प्रोजेक्ट प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका हार्डवेयर तथा सफ्टवेयरहरूको प्रदर्शन गरिनेछ। साथै, करियर फेयरमा १५ भन्दा बढी कम्पनीका स्टल रहनेछन्, जहाँ विद्यार्थीहरूले रोजगारी तथा इन्टर्नसिपसम्बन्धी जानकारी लिन सक्नेछन्।

आयोजकले ‘आईटी मिट २०२५’ ले विद्यार्थीहरूको सीप विकास, नवप्रवर्तन प्रवर्द्धन तथा प्रविधि क्षेत्रमा करियर अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।