लाइसेन्स लिएका ६० प्रतिशत नर्स विदेश पलायनले स्वास्थ्य संस्थामा नर्स अभाव चर्कँदै

स्वदेशमा सुविधा न्युन हुँदा विदेशीने बढे, सिट बढाउन सुझाव
पुस ६, २०८२ |नारायण किलम्बू|कृपाल गौतम
लाइसेन्स लिएका ६० प्रतिशत नर्स विदेश पलायनले स्वास्थ्य संस्थामा नर्स अभाव चर्कँदै

काठमाडौं । लाइसेन्स लिएकामध्ये ६० प्रतिशतभन्दा बढी नर्स विदेश पलायन हुनुका साथै स्वदेशमै पनि अत्यन्तै न्यून सुविधामा काम गर्न बाध्य हुनुपरेपछि मुलुकभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा नर्स अभाव हुन थालेको छ । 

झन् त्यसमाथि १ सय शय्या अस्पताल हुनुपर्ने मापदण्डका कारण पाँच दर्जन नर्सिङ कलेज बन्द हुँदा केही वर्षयता विदेश पलायन हुनेको संख्या झन् बढेको छ । नेपाल नर्सिङ काउन्सिलका अनुसार मुलुकभर पीसीएलदेखि विशेषज्ञ नर्स गरी ८६ हजार ४ सय जनाले लाइसेन्स लिएका छन् । तर तीमध्ये २०५९ यता ५२ हजारभन्दा बढी नर्स विदेशिएपछि नेपालका स्वास्थ्य संस्थामा नर्स अभाव हुन थालेको छ । 

न्यून तलबका कारण आवेदन नै कम पर्ने गरेको र केही समय काम गर्ने अनि विदेश जाने गरेका कारण पीसीएल नर्स नै पाउन मुस्किल भएको अस्पताल सञ्चालकहरू अनुभव गरिरहेका छन् । बर्सेनि सात सयका दरले नर्स विदेशिने गरेकोमा केही वर्षयता यो संख्या बढिरहेको छ । 

अधिकांश अमेरिका, अस्ट्रेलिया, बेलायत, दुबइलगायतका मुलुकमा गएका छन् । एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने मापदण्डका कारण पाँच दर्जन नर्सिङ कलेज बन्द भएका कारण उत्पादनमा कमि र जनशक्ति विदेशिँदा नर्सहरूको अभाव भएको नर्सिङ परिषद् र सरकारी निकायहरुको भनाइ छ ।

प्रमाणपत्र तहको नर्सिङ जनशक्ति उत्पादन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्-सीटीइभीटी र सोभन्दा माथिको नर्सको उत्पादन विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले गरिरहेका छन् । सीटीइभीटीले बर्सेनि २२ सय र विश्वविद्यालयहरुले ३५ सय नर्सिङ जनशक्ति उत्पादन गर्दै आएका छन् । 

महंगो शुल्क तिरेर नर्सिङ शिक्षा हासिल गरेका नर्सहरू अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा भने निकै न्यून सुविधामा काम गर्न बाध्य भैरहेका छन् । राष्ट्रिय मानव स्रोत रणनीतिक अध्ययन प्रतिवेदन २०२१ ले सन् २०३० सम्म निजी र सरकारी स्वास्थ्य संस्थामा ८१ हजार नर्सिङ जनशक्ति चाहिने प्रक्षेपण गरेको छ । तर नेपालमा न्यून सुविधा र विदेशमा अवसरको खोजीका लागि पलायन बढ्दा नेपालका स्वास्थ्य संस्थामा नर्स अभाव बढ्दै गएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।

Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।