धनकुटा । आर्थिक संकटका कारण धनकुटाको मूलघाटमा रहेको विश्रान्तिधाम संस्कृत गुरूकुल सञ्चालनमा कठिनाइ भएको छ ।
आर्थिक अभावकै कारण धार्मिक शिक्षा लिँदै आएका बटुकको पढाइ लेखाइ प्रभावित हुने अवस्था आएको हो । संस्कृत भाषा, व्याकरण, वेद, कर्मकाण्ड, आधुनिक नेपाली, अंग्रेजी, गणित र अन्य सामाजिक विधाको पढाइ सञ्चालन गर्दै आएको विश्रान्ति संस्कृत गुरूकुलको कक्षा ६ देखि ९ सम्म ३५ जना बटुक अध्ययनरत छन् ।
हिन्दू धर्मका पण्डित र पुरोहित उत्पादन तथा श्रुति परम्पराको निरन्तरताका लागि चार वर्षअघि यो नि:शुल्क आवासीय संस्कृत गुरूकुल सञ्चालनमा आएको थियो । विश्रान्ति संस्कृत गुरूकुल सञ्चालनका लागि विश्रान्ति मन्दिर व्यवस्थापन समितिले एक करोड रूपैयाँको अचल कोष सञ्चालनमा ल्याएको थियो ।
चार वर्षअघि मासिक १२ प्रतिशत ब्याजदर पाउने गरी राखिएको उक्त रकमबाट वार्षिक करिब १२ लाख रूपैयाँ प्राप्त हुन्थ्यो । तर अहिले बैंकले ब्याजदर १२ प्रतिशतबाट घटाएर २ दशमलव ५७ प्रतिशतमा झारेको छ । सरकारबाट वार्षिक ५ लाख रूपैयाँ परम्परागत विद्यालय सञ्चालन अनुदान प्राप्त हुन्छ । यसबाहेक गुरूकुल सञ्चालनको मुख्य आधार दाताहरूको दानदातव्य नै हो ।
गुरुकुलमा कार्यरत आचार्य पारिश्रमिक, बटुकको भरणपोषण, भान्छे र सहयोगी गरी ४० जना छन् । उनीहरूको दैनिक खाना, खाजा, आवास, पोशाक, कपि, किताब र सामान्य उपचारलगायतका व्यवस्थापनमा वार्षिक करिब ३० लाख रूपैयाँ खर्च हुने गरेको छ ।
अचल कोषको घट्दो ब्याजदर र दानदातव्यमा भएको कमीका कारण गुरूकुल सञ्चालनमा कठिनाइ भएको हो । दीर्घकालीनरूपमा गुरूकुल सञ्चालनका लागि सरकार र स्थानीय समुदायको चासो तथा सहकार्य आवश्यक देखिएको छ ।