मधेश प्रदेशमा निर्वाचन तयारी पूरा, आठ जिल्लाका ३२ क्षेत्रबाट प्रतिनिधि चुनिँदै

फाल्गुन १९, २०८२ |अनिल मिश्र
मधेश प्रदेशमा निर्वाचन तयारी पूरा, आठ जिल्लाका ३२ क्षेत्रबाट प्रतिनिधि चुनिँदै

धनुषा । फागुन २१ गतेका लागि निर्धारित आम निर्वाचनप्रति मधेश प्रदेशमा उत्साह छ । 

सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा निकायले मतदान केन्द्र र मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी निर्वाचनको तयारी पूरा गरेको छ ।

मधेश प्रदेशको राजधानी समेत रहेको धनुषामा चारवटा निर्वाचन क्षेत्र रहेको छ । यही फागुन २१ बिहीबार हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको तयारी पूरा भएको छ । सबै मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन सामग्री लिएर मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । 

भौगोलकि रूपमा सहज भए पनि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विकासको दृष्टिकाेणले पछि परेको मधेशमा वृद्धदेखि युवासम्मका विभिन्न उमेर समूहका मतदाताहरू यसपालिको चुनावमा केही सकारात्मक परिवर्तन होला कि भन्ने आशामा छन् ।

मधेशको आठ जिल्लामा कुल निर्वाचन क्षेत्र संख्या ३२ रहेको छ । १६ लाख ६३ हजार ३ सय ७४ जना महिला र १९ लाख ७२ हजार ९ सय ६४ जना पुरुषसहित ३६ लाख ३६ हजार ४ सय १४ जना कुल मतदाताहरुको संख्या छ । 

एक हजार ४२ मध्ये पुरुष उम्मेदवारहरुको संख्या ९ सय ४१ रहेका छन भने जबकि महिला १ सय १ जना मात्र चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । बाक्लो जनघन्त्व र घना वस्ती रहेको मधेशका मतदाता जातीय विभेद र भेदभाव भन्दामाथि उठेका छन् भने गौर, वीरगन्जलगायतका स्थानमा छिटफुट घटना भए पनि समग्रमा भन्नु पर्दा शान्त नै छ ।

नेपाल-भारतबीचको खुला सिमाना र जेन-जी मुभमेन्टपछि सुरक्षा चुनौतीको दृष्टिकाेणले मतदान स्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो । भारतसँग जोडिएको ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेश प्रदेशको आठै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ५६ मतदान स्थल छन् । 

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले १ हजार २ सय ३७ वटा मतदान स्थल अति संवेदनशील र ७ सय ६३ संवेदनशीलको सूचीमा राखेका छन् भने सामान्य मतदान स्थल २ हजार ४ सय ७१ वटा मात्रै छन् । मधेशको आठवटै जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ६० हजारभन्दा बढी सुरक्षाकर्मीहरू परिचलन गरिएको छ।

मधेश प्रदेशका ३६ लाख ३६ हजार ४ सय १४ जना मतदाताले पाँच वर्षका लागि प्रत्यक्षतर्फ प्रतिनिधिस भाको ३२ जना सांसद रोज्ने छन् । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।