वैकल्पिक र अतिरिक्त कक्षा शून्यप्राय हुँदा एसईईको नतिजा खस्किने चिन्ता

शिक्षक अभाव यस वर्ष पनि उस्तै, आन्दोलन र चुनावले पढाइ बिथोल्ने जोखिम
कार्तिक २३, २०८२ |नारायण किलम्बू
वैकल्पिक र अतिरिक्त कक्षा शून्यप्राय हुँदा एसईईको नतिजा खस्किने चिन्ता

काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा-एसईई आउन ४ महिना बाँकी छ । 

तर सरकारले एसईई र विद्यार्थीको नतिजा सुधारका लागि केही कामै गरेको छैन । गत वर्ष श्रव्यदृश्यसहितको अनलाइन कक्षा सञ्चालनमा ल्याएको सरकारले यस वर्ष कुनै योजना अघि सारेको छैन । झन् त्यसमाथि एसईईको केही दिनअघि फागुन २१ मा निर्वाचन हुँदैछ । जसका लागि शिक्षकहरू निर्वाचनमा खटिनेछन् भने विद्यालयहरू मतदान स्थलमा रूपान्तरण हुनेछन् । जसले विद्यार्थीको पढाइकै माहोललाई झनै बिगार्ने सम्भावना छ। 

यी कारण यसपटक एसईईको नतिजा खस्कने आकलन शिक्षकहरूले गर्न थालेका छन् । ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने घोषणासहित अघिल्लो सरकारले एसईईको नतिजा सुधारका लागि अनिवार्य विषयहरूको श्रव्यदृश्यसहितको अनलाइन कक्षा सञ्चालनमा ल्याएको थियो । 

गणित, अँग्रेजी, विज्ञानजस्ता धेरै विद्यार्थी फेल हुने विषयमा विशेष कार्यक्रम चलाइएको थियो । जसको नतिजा एसईईमा देखियो पनि । उत्तिर्ण प्रतिशत ४८ बाट ६२ पुग्यो। तर यो वर्ष नतिजा सुधारका लागि सरकारले केही कामै गरेको छैन। त्यसमाथि शिक्षक आन्दोलनले नयाँ शैक्षिक सत्र दुई साता ढिला गरी सुरू भएको थियो । तर शिक्षा मन्त्रालय भने नयाँ योजना नल्याए पनि रेडियो- टेलिभिजनबाट शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइरहेको दाबी गर्छ ।

अहिले पनि धेरै विद्यालयमा अँग्रेजी, गणित, विज्ञानलगायतका विषयमा शिक्षक अभाव कायमै छ । कालिकोटको रूपादेवी माविले गणित शिक्षकका लागि अठारौं पटक विज्ञापन गर्दासमेत शिक्षक पाउन सकेन । त्यसैले एसईईको नतिजा र विद्यार्थीको सिकाइ उपलब्धिका लागि विद्यालयहरूमा अतिरिक्त कक्षाका साथै वैकल्पिक माध्यमबाट पठनपाठन आवश्यक रहेको शिक्षकहरू बताउँछन् ।

विद्यालय शिक्षा नियमनको अधिकार स्थानीय तहलाई छ । तर स्थानीय तहले सधै केन्द्रकोमात्र मुख ताक्दा शिक्षालाई पर्याप्त बजेट छुट्याउने गरेका छैनन् । त्यसैले स्थानीय तहले पर्याप्त बजेटमार्फत् शिक्षक व्यवस्थापन र वैकल्पिक तथा अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

एसईईको केही दिनअघि फागुन २१ मा निर्वाचन हुँदैछ, जसका लागि शिक्षकहरू निर्वाचन तथा राजनीतिक दलका कार्यक्रममा खटिनेछन् भने विद्यालयहरू मतदान स्थलमा रूपान्तरण हुनेछन्, जसले विद्यार्थीको पढाइकै माहोललाई झनै बिगार्ने सम्भावना छ। यस्तो अवस्थामा तीव्र गतिमा काम नगर्ने हो भने यसपटक एसईईको नतिजा झनै खस्कने निश्चित छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।