काठमाडौं । जेन-जीको अगुवाईमा भएको आन्दोलन, प्रदर्शन र त्यसपछिको निषेधाज्ञाले बिथोलिएको शिक्षण संस्था आइतबारदेखि खुलेका छन् ।
देशभरको अवस्था सामान्य बन्दै गएसँगै विद्यालय पुनः सञ्चालनमा आएका हुन् । देशभरका शिक्षण संस्था आजदेखि खोल्ने गरी स्थानीय तहहरूले हिजैदेखि तयारी थालेका थिए ।
काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले विद्यालय खुल्ने सूचना जारी गरेका छन् । काठमाडौंका विद्यालय आजदेखि खुले पनि भोलिदेखि मात्र पढाइ सुरु हुने छ ।
काठमाडौं महानगरपालिकाले भोलिदेखि पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई सर्कुलर जारी गरेको छ । कतिपय विद्यालयले सामाजिक सञ्चालबाट सञ्चालनको तयारी गरेको जानकारी दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि शुक्रबार नै सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै स्थानीय तहलाई सर्कुलर जारी गरेको थियो । शिक्षा मन्त्रालयले पनि अवस्था सामान्य बन्दै गएकाले विद्यालय सञ्चालन गरिएको जनाएको छ ।
प्याब्सन काठमाडौँले भदौ २८ गतेदेखि तोकिएको परीक्षा असोज २ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । निजी विद्यालयका सञ्चालकहरुका संस्था प्याब्सन, हिसान, एनप्याब्सन केन्द्रीय समिति र विभिन्न जिल्लाबाट विज्ञप्ति जारी गरेर आजदेखि अनुकूलताका आधारमा विद्यालय खोल्न अपिल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले भने प्रशासन सञ्चालन गरे पनि पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सञ्चालन गर्ने भएको छ ।