पढ्दै नपढी ७ लाख रूपैयाँसम्म तिरेर पीएचडीको उपाधि खरिद हुने गरेको खुलासा

भारतीय विश्वविद्यालयबाट नक्कली उपाधि लिनेहरूमाथि त्रिविको कारबाही
भाद्र १८, २०८२ |नारायण किलम्बू
पढ्दै नपढी ७ लाख रूपैयाँसम्म तिरेर पीएचडीको उपाधि खरिद हुने गरेको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घरमै बसी-बसी भारतीय विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि लिनेहरूमाथि कारबाही थालेको छ । 

भारतीय विश्वविद्यालयका एजेन्टलाई ७ लाख रूपैयाँसम्म बुझाएर विद्यावारिधिको उपाधि लिने गरिएको उजुरी परेपछि अख्तियारसँगको सहकार्यमा त्रिविले कारबाही अघि बढाएको हो । त्रिविको छानबिन समितिले यस्ता ६ वटा प्रमाणपत्र नक्कली पुष्टि गरिसकेको छ ।

भारतीय विश्वविद्यालयहरूका नाममा काठमाडौंलगायत नेपालका विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोली ५ देखि ७ लाख रूपैयाँमा पीएचडी अर्थात् विद्यावारिधिको प्रमाणपत्र बेच्ने गरेको तथ्य पत्ता लागेको छ ।

यसमा ठुलो गिरोह नै संलग्न रहेको छानबिन समितको निष्कर्ष छ । गिरोहले अध्ययन अनुसन्धान नगरि घरमै बसि-बसि उपलब्ध गराउने यस्ता प्रमाण पत्रलाई त्रिभुवन विश्वविद्यालयले पनि समकक्षता दिँदै आएको थियो । 

विशेषगरी भारतको सिंघानिया, दरभंगाको संस्कृत विश्वविद्यालय, अवध विश्वविद्यालय तथा मेवाड विश्वविद्यालयका नाममा गिरोहले विद्यार्थी उपस्थित नै नभइ घरैमा प्रमाणपत्र ल्याइदिने अथवा सिधा शब्दमा बिक्री गर्ने गरेको तथ्य त्रिविको छानबिन समिति फेला पारेको छ ।

कलेज नगई घरैमा बसी-बसी भारतीय विश्वविद्यालयहरूबाट विद्यावारिधि गरेको र समकक्षतासमेत लिएको उजुरीपछि अख्तियार र त्रिविले छानबिन थालेका हुन् । त्रिविले गठन गरेको छानबिन समिति भारतका विश्वविद्यालयहरूमा समेत पुगि स्थलगत अध्ययन गरेर फर्किएको हो । 

समितिका संयोजक कर्णराज आचार्यले विद्यावारिधी खरिद गरेको भनेर उजुरी परेकाहरूका विषयमा छानबिन गर्दा प्रमाणपत्रमा उल्लेख भएका भारतका विश्वविद्यालयहरूमा कुनै आधिकारिकता फेला नपरेको बताउनुभयो ।

त्रिविले समकक्षता समेत दिएका ती शैक्षिक उपाधि नक्कली पुष्टि भएको छानबिनबाट देखिएको छ। नक्कली प्रमाण पत्रको विगविगी नेपालमा धेरै छ । विद्यालय तहदेखि क्याम्पस तथा विश्वविद्यालयसम्मका नक्कली प्रमाण पत्र किनबेच भएका तथा त्यसकै आधारमा जागिर खाएकाहरू माथि यसअघि पनि अख्तियारले छानबिन गरेर कारवाही भइसकेको छ । 

अख्तियारले आर्थिक वर्ष २०८०-८१ मा मात्रै नक्कली शैक्षिक प्रमाणपत्रका ३७ वटा मुद्दा दायर गरेको थियो । त्रिविको छानबिनबाट नक्कली पुष्टि भएकामध्ये भारतको सिंघानिया विश्वविद्यालयका नाममा विद्यावारिधी गरेको भनिएका डडेलधुराका दिपेद्रसिंह सुनालको उपाधि खारेजी प्रकृया अगाडि बढाएको छ । 

विद्यावारिधिको उपाधि लिन विश्वविद्यालयमै उपस्थित भइ कम्तीमा २ सेमेस्टर कोर्ष पूरा भएको हुनुपर्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


सम्बन्धित