काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले, आफ्ना सबै खेल गतिविधि स्थगित गरेको छ । तर एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले भने कुनै पनि प्रतियोगिता तथा बैठक स्थगित भए पनि त्यसबारे क्लबहरूलाई लिखित जानकारी दिनुपर्ने बताएका छन् ।
कर्मा छिरिङ हिमालयन शेर्पा क्लबका अध्यक्ष पनि हुन् । एन्फाले अन्डर सिक्सटिन युथ लिगका विषयमा छलफल गर्न साेमबार क्लबहरुलाई बोलाएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार क्लबहरू बैठकका लागि गएका थिए ।
एन्फाले बैठकलगायत युथ लिग स्थगित भएको म्यासेजमार्फत जानकारी दिएको पूर्वअध्यक्ष कर्मा छिरिङले बताए । उनले अन्डर सिक्सटिनका दुई वटा र अन्डर एटिनको एउटा प्रतियोगिताको पैसा तत्काल उपलब्ध गराउन पनि एन्फासँग माग गरे ।
तीन वटा प्रतियोगितावापत एउटा क्लबले औसतमा चार लाख रूपैयाँ पाउन बाँकी छ । बैठकमा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई उपस्थित थिएनन् । जेन जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिका कारण एन्फाले कार्यक्रम स्थगित गरेको हो ।